Followers

Follow by Email(प्रकाशित पोस्टहरु ईमेलमा प्राप्त गर्नुहोस्।)

4. Are we ready for Viral Fever? हात नमिलाऔ, नमस्कार गरौ !! भाईरल संक्रमणको आतंकबाट बचौ र बचाऊ !!!_BY DR. SURYA B. PARAJULI, NEPAL

असार ३०,२०६९ को ब्लास्ट दैनिकमा प्रकाशित 


पृष्ठभूमि 

एस.एल.सी. परीक्षा पास गरेर कम्प्युटर इन्स्टीच्यूटमा कम्प्युटर सिक्दै गरेकी १६ वर्षे बहिनी राधिका अधिकारी (नाम परिवर्तन) मेरो उपचार केन्द्रमा आउनुभयो । उहाँलाई ज्वरो, रुघा-मर्की लागिरहेको थियो । जीउ पूरै कटकट दुखिरहेको थियो भने आलस्यपना बढेको थियो । उहाँसँग कुरा गर्दा उहाँका केही साथीहरु पनि यस्तै समस्याबाट ग्रसित भएको पाइयो । 

हजुर, हिजोआज हामी धेरैले यस्तै समस्याबाट सताइनु परेको छ । 

यो समस्या भाइरल ज्वरोको हो ।

परिचय
भाइरल ज्वरो भन्नाले शरीरमा विभिन्न प्रकारका विषाणुको संक्रमण भएर शरीरको तापक्रम बढ्ने अवस्था हो । यस्तो संक्रमणमा लक्षण तथा चिह्नहरुका आधारमा केही विषाणुको पहिचान गर्न सकिए पनि धेरै विषाणुहरुको एकैसाथ संक्रमण भएको अवस्थामा पहिचान गर्न कठिन हुने गर्दछ । संसारैभर जुनसुकै उमेर समूहका मानिसलाई पनि भाइरल ज्वरोले आक्रमण गर्न सक्दछ । साधारण प्रकारका भाइरल ज्वरोहरु  ठीक हुन्छन् तर केही चाहिँ अति खतरनाक भई मानिसको मृत्यु पनि हुन सक्छ । शरीरको प्रतिरक्षा प्रणालीको आधारमा भाइरल ज्वरोले देखाउने लक्षण, चिह्न र जोखिमहरु फरकफरक हुन सक्दछन् । 
बुभ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने ज्वरो खास कुनै रोग होइन, यो अर्को विशेष रोगको लक्षणमात्र हो तर घातक पनि हुन् सक्छ, तसर्थ समयमै जाँच गराउने गर्नु पर्दछ ।

शरीरको तापक्रममा असर पार्ने तत्वहरु

तापक्रम लिने ठाउँ,मौसम, शारीरिक व्यायाम, समय, उमेर समूह आदिले तापक्रममा असर पार्दछन तसर्थ एक चोटी नापिएको शरीरको तापक्रम सहि नहुन पनि सक्दछ /

तापक्रमका प्रकारहरु
शरीरको तापक्रमलाई यसरि वर्गीकरण गर्न सकिन्छ/
लोग्रेड फिभर ३८३९ डिग्री सेल्सीयस
मोडरेट फिभर ३९४० डिग्री सेल्सीयस
हाईग्रेड फिभर ४०४१ डिग्री सेल्सीयस
हाइपर पाइरेक्सीया ४२ डिग्री सेल्सीयस वा सोभन्दा माथिको अवस्था

कारणहरु
प्रायसः भाइरल ज्वरोको संक्रमण हावा, पानी तथा खाना र प्रत्यक्ष सम्पर्कका कारणबाट हुने गरेको पाइन्छ । अब संक्रमण विस्तारै रगत तथा लसिका प्रणालीमा पुग्दछ । भाइरसको प्रकृतिअनुसार शरीरमा संक्रमण भएको केही दिनदेखि केही हप्तामा यसका लक्षण तथा चिह्नहरु देखिन्छन् । मानिसको प्रतिरक्षा प्रणाली उसको दैनिक स्वास्थ्य गतिविधि अनुसार फरकफरक लक्षण तथा चिह्नहरु देखिन्छ ।

लक्षण तथा चिह्नहरु
शरीरमा विषाणु प्रवेश पछि विस्तारै थकान र आलस्यपन बढेर जान्छ । विस्तारै पूरै जीउ दुख्न थाल्छ । मांशपेशीहरु कटकट खान्छ र ज्वरोको शुरुआत हुन्छ । ज्वरो साधारणदेखि उच्च तापमानसम्मको आउन सक्छ । केही दिनभित्रमा नाकबाट सिँगान बग्ने, रुघामर्गीले टाउको दुख्ने, आँखा रसिलो हुने, खोकी लाग्ने, खाना निल्न गाह्रो हुने, जोर्नी दुख्ने, खोक्दा छाती दुख्ने लक्षणहरु थपिएर जान्छन् । केहीकेही भाइरल ज्वरो असामान्य प्रकृतिका भेटिन्छन्, जसमा उल्टी हुने, झाडा हुने, जन्डिस हुने गर्दछन् ।

जाचहरु
रगत, दिसा, पिसाब, एक्सरे आदिका रिपोर्टहरु प्रायः राम्रा नै हुन्छन् । यसको पहिचान गर्ने तरिका मुख्य रुपमा बिरामीसँग गरिने छलफलहरु नै हुन् तर यसो भन्दैमा के रगत, दिसा पिसाब लगायतका जाँच नगराउने हो त भन्ने प्रश्न उब्जिनु पनि स्वाभाविक हो । पक्कै पनि चिकित्सकको सल्लाहमा त्यस्ता परीक्षणहरु आवश्यक हुन्छन् । हामीले के बुभ्नुपर्दछ भने भाइरल ज्वरोले संक्रमणका बेला टाइफाइड, मेनिन्जाइटिस, औलो आदि भएको रहेछ भने साधारण तया प्रतिजैविक औषधि (एन्टीबायोटिक) को प्रयोग नगर्दा बिरामीको मृत्यु पनि हुन सक्दछ ।

ज्वरोका किसिमहरु
कन्टीनियस फिभरः हाइग्रेड फिभर लगातार आइरहने, तापक्रम तलमाथि परिवर्तन नहुने अवस्था हो, निमोनियाहरुमा यस्तो प्रकारको ज्वरो हुन्छ ।

रेमिटेन्ट फिभरः शरीरको तापक्रम सामान्यभन्दा बढेको अवस्था, जसमा दुई डिग्री फरेनहाइट तापक्रम दिन र रातमा फरक हुने गर्दछ । तथापि शरीरको सामान्य तापक्रममा भने फर्कने अवस्था रहँदैन । टाइफाइड (म्यादे ज्वरो) मा यस्तो प्रकारको ज्वरो आउँछ ।

इन्टरमिटेन्ट फिभरः शरीरको तापक्रम कहिले एक्कासी बढ्ने त कहिले सामान्यभन्दा तल झर्ने हुन्छ तर शरीरको तापक्रम दिनमा वा रातमा जुनसुकै समयमा बढ्न सक्ने हुन्छ । औलोमा यस्तो प्रकारको ज्वरो आउँदछ ।

ज्वरोका अन्य कारणहरु
टाइफाइड, ग्यास्ट्रोइन्टेराइटिस, टन्सीलाइटिस, न्युमोनिया, मध्यकानको संक्रमण, दादुरा, औलो, क्षयरोग, मेनिन्जाइटिस, पिलो तथा छालाको संक्रमण, बाथ ज्वरो, युटीआई, मृगौलाको संक्रमण, क्यान्सर औषधि तथा लागूऔषध आदिको प्रयोगहरु हुन् ।

उपचार
ज्वरोलाई सामान्य तापक्रममा ल्याउनु अति आवश्यक हुन्छ नत्र यसले मस्तिष्काघात पनि गर्न सक्छ। बिरामीले ओढ्ने ओढेको छ भने हटाइदिने, लुगाफाटा खोल्न लगाउने, चिसो पानीपट्टीको प्रयोग गर्ने, पंखाहरु चलाइदिने र उसलाई शीतल पार्न प्रयास गर्ने, आइसप्याकहरु काखी, काछ र घाँटीको पछाडि राखेर तापक्रम घटाउन सकिन्छ । ज्वरो आउने मानिसको शरीरबाट धेरै पसिना निस्कन्छ, जसले गर्दा शरीरबाट धेरै तरल पदार्थ नष्ट हुन्छ । शरीरबाट धेरै तरल पदार्थ कम हुँदा प्रणालीगत समस्याहरु देखा पर्न सक्छन् । तसर्थ, व्यक्तिलाई प्रशस्त मात्रामा चिसो झोल पदार्थहरु खुवाउनुपर्दछ । बिरामीले खान नसके नशाको माध्यमबाट तरल पदार्थ दिइन्छ ।हाम्रो गाउँसमाजमा ज्वरो आएमा भ्यालढोका थुनेर गुम्स्याएर राख्ने गरेको पाइन्छ । यस्तो गर्नु हुदैन । बिरामी बसेको कोठाका भ्यालहरु खोली हावा आवतजावत गरेको हुनु पर्दछ। बिरामीलाई ज्वरो कम गर्ने  औषधिहरु जस्तैः पारासिटामोल आदिको  प्रयोग गर्नुपर्दछ । माथि उल्लेख ज्वरोका कारण भाइरल फिभर मात्र नभई अरु पनि हुने भएकाले स्वास्थ्यकर्मीको सल्लाहमा आवश्यक जाँच गर्ने, प्रतिजैविक औषधिको प्रयोग गर्ने गर्नुपर्दछ ।आवश्यकताअनुसार बिरामीलाई सुविधासम्पन्न अस्पतालमा पठाउनुपर्ने हुन सक्छ ।भाइरल फिभरको संक्रमण हूल, भेला, स्कुल, होस्टेल आदिमा व्यापक हुनाले सकेसम्म संक्रमितलाई बेग्लै राख्नु राम्रो हुन्छ ।

उपसंहार
हात नमिलाऔ, नमस्कार गरौ !! 
भाईरल संक्रमणको आतंकबाट बचौ र बचाऊ !!!