Followers

6.साताको ब्लगर: डा. सूर्य पराजुली ( Blogger of week - Dr Surya Parajuli- BPKIHS- Dharan-Nepal)

साताको ब्लगर (Blogger of week): डा. सूर्य पराजुली


डा. सूर्य पराजुली पेशाले एक मेडिकल डाक्टर हुन् । उनले नेपाल मेडिकल कलेजबाट एम बि बि एस (MBBS) गर्नुको साथै ग्रामीण बिकासमा स्नातकोत्तर गरेका छन् । आफ्नो पेशामा सक्रिय उनी साहित्यमा पनि उत्तिकै रुची राख्दछन् । उनले नेपाली साहित्यमा एस.पि लोचन को नामले पत्रपत्रिका र संचारमाध्यममा साहित्यिक रचना प्रकाशन गर्ने गरेका छन् भने सन् २००६ मा अपरेशन थिएटर नामक कविता संग्रह पनी प्रकाशन गरिसकेका छन् ।  
मोरङको हरैंचा गाउँ विकास समिती वडा नं ३ मा जन्मथलो भएका डाक्टर सूर्य दुइवटा एफ एम सँग आबद्ध छन । उनले काठमाडौंको मेरो एफ एम ९३.५ मेगाहर्ज को लाईभ सलुसन कार्यक्रम र बिर्तामोडको सनराइज एफ.एममा डाक्टर साथी कार्यक्रम मार्फत स्वास्थ्यसम्बन्धी जानकारी र परामर्श दिदैँ आएका छन्
'डाक्टर साथी' ब्लगबाट स्वास्थ्य सम्बन्धी बिभिन्न जानकारी दिदैँ आएका डा. सूर्य पराजुलीलाई हामीले साताको ब्लगरको रुपमा छानेका छौँ । प्रस्तुत छ उनीसित मेरोरिपोर्टका लागि अजिता सिग्देल र यमुना चापागाईंले गरेको कुराकानीः
ब्लगिङ कसरी सुरु गर्नु भयो ?  
मैले एम बि बि यस पढ्दा २००७ तिर इन्टर्नेट चलाउने क्रममा ब्लगबारे जानकारी प्राप्त गरेँ । इन्टरनेटको सुविधा भएसम्म र समयले भ्याएसम्म यसलाई परिस्कृत गरिदै आजको अवस्थामा ल्याईएको हो। 
ब्लगिङ नै किन ?
सुरुमा मैले ब्लगिङ साहित्यिक गतिविधि अगाडी बढाउन सुरु गरेको थिएँ ।  सन् २००६ मा मेरो अपरेशन थिएटर नामक एउटा कविता संग्रह प्रकाशित भएको थियो जुन बैरागी काइँलाले विमोचन गर्नु भएको थियो । मेरो विभिन्न अन्तर्वार्ता, कविताहरुको  प्रतिकियाको लागि मैले सबैभन्दा उत्तम उपाय ब्लग देखेँ र ब्लगिङ गर्न थालेँ । अर्को कुरा वेबसाइट सुरु गर्न त्यति ज्ञान पनि नभएकोले गर्दा र आर्थिक रुपमा पनि महँगो हुने भएकोले गर्दा मैले ब्लग नै रोजेँ ।   
के बिषयमा ब्लगिङ गर्नु हुन्छ ?
मेरो drsathi.blogspot.com भन्ने ब्लग छ त्यसमा मैले धेरै पेजहरु राखेको छु । मैले काम गरेको सङ्घ-संस्थाको बारेमा, मेडिकल हेल्थको बारेमा विभिन्न  पत्रपत्रिकामा प्रकाशित भएका लेखहरु, मैले विभिन्न संचारमाध्यममा दिएका अन्तर्वार्ताहरु छन मेरो ब्लगमा । मेरो अर्को ब्लग  splochan.blogspot.com जसमा मैले साहित्यिक रचनाहरु पोस्ट गर्ने गरेको छु । त्यस्तै मेरो अर्को ब्लग haraicha.blogspot.com मा मेरो जन्मभुमी हरैंचाको बारेमा विभिन्न पोस्टहरु राखेको छु । यो
'डाक्टर साथी ' को बारेमा केही बताइदिनुस न ?
सन् २०११ जनवरीदेखि मैले नेपाल मेडिकल भोलिन्टियर सोसाइटी नामक संस्थाको स्थापना गरी 'डाक्टर साथी' को नामले यो  प्रोजेक्ट  सुरु गरेको हुँ । त्यस अन्तर्गत विभिन्न संचारमाध्यममा प्रकाशन र प्रसारण भएका लेख-रचना, कार्यक्रम राख्ने, गाउँ-गाउँ गएर स्रोता क्लब खोल्ने, स्कुलमा हेल्थ क्लब खोल्ने, जनचेतनाको कार्यक्रम गर्ने गरेका छौँ । शहरी क्षेत्रदेखि ग्रामिण क्षेत्रसम्मको मानिसलाई समेटोस भन्ने भावना लिएर मैले डाक्टर साथी नाम राखेको हुँ । यसबाट हामीले स्वास्थ्य सम्बन्धी गतिविधि अगाडी बढाइ रहेका छौँ । 
यसमा साहित्यिक लेख रचना पनि पाउन सकिन्छ । तर यसको मुख्य पाटो भनेको स्वास्थ सम्बन्धी विभिन्न जानकारीलाई सकेसम्म सरल भाषामा लेख्न खोजेको छु । यसमा रेडियोमा प्रसारण भएका कार्यक्रम पनि राखिएको छ । स्वास्थ्य सम्बन्धी सबै कार्यक्रम राख्न ब्लगमा सम्भव भएकोले यसलाई वेबसाइट बनाएर राख्ने पनि योजना छ ।     
स्वास्थ सम्बन्धी विभिन्न कुरा साधारण मानिसदेखि लिएर डाक्टर  र विज्ञहरुसम्म लिन्क गर्ने प्रयास यो ब्लगबाट गरिरहेका छौँ । यस ब्लगमा डाक्टर र विज्ञबाट स्वास्थ सम्बन्धी आधिकारिक जानकारी पाउन सक्नुहुन्छ । 
कस्तो प्रतिकिया पाइरहनु भएको छ ब्लग मार्फत  ? 
प्रतिकिया राम्रै पाउने गरेको छु । ब्लग हेर्ने, पढ्ने पाठकहरु खुशी हुनु भएको छ । केही एफ एम हरुले यसलाई आधार मानेर स्वास्थ्यको कार्यक्रम पनि गरिरहनु भएको छ ।  
स्कुलका विद्यार्थी तथा मेडिकल साथीहरुले पनि यो ब्लगमा आफ्नो पाठ्यक्रमको विषयगत कुराहरु पनि प्राप्त गर्नु भएको छ ।  मुख्यतः झापा जिल्लामा गाँउ-गाँउ गएर सर्पको टोकाइ सम्बन्धी प्रशिक्षण दिने र नबुझ्नु भएमा सम्भव भए सम्म यो ब्लगबाट विभिन्न जानकारी दिने पनि गरिएको छ  र अर्को खुशीको कुरा के हो भने मेरो कार्यक्रममा आधारित भएर साउदी अरबमा डाक्टर साथी स्रोता क्लब खुलेको छ । उहाँहरुलाई त्यहाँ स्वास्थ्य सम्बन्धी जानकारी पाउन गार्हो  छ । त्यसैले त्यहाँका साथीहरुले यो ब्लग मार्फत कार्यक्रम सुन्नुहुन्छ । मेरो कार्यक्रम र ब्लगको स्वास्थ्यको कन्टेन्टबाट उहांहरु धेरै खुशी हुनुहुन्छ ।
नेपालमा स्वास्थ्य स्थिती कस्तो छ ?  
स्वास्थ्य क्षेत्रको कुरा गर्नु पर्दा सरकारी क्षेत्रबाटै त्यति ध्यान नपुगेको देखिन्छ । नीतिनियम बनाउने व्यक्तिमा नै मेडिकल ज्ञान हुँदैन । काठमाडौंको एउटा कोठामा बसेर मनाङ , मुस्ताङको गाउँमा उपचार कसरी गर्ने भनेर नीति नियम बनाइरहेको अवस्था छ ।जस्तै जनतालाई सर्वसुलभ रुपमा सित्तैमा औषधी दिने भनेर कार्यक्रम पनि आयो केही वर्ष अगाडी । ती औषधी यति कमसल छन र यदी प्राप्त गरी हाल्यो भने पनि तिनले काम गर्दैनन । र डाक्टरलाई पनि जुन सेवा-सुविधा दिनु पर्ने हो त्यो दिइएको छैन जसले गर्दा डाक्टरहरु विकट ठाउँमा जान चाहनुहुन्न । र जो जानु हुन्छ उहाँलाई पनि केही समय बसेपछि  एउटा निराशा, हिन भावना आउँछ । त्यही भएर डाक्टर काठमाडौं र शहरी क्षेत्रमा नै बस्नु हुन्छ भने गाउँको अवस्था त झन नाजुक छ ।   
 हामीसँग स्वास्थ्य सम्बन्धी विषयवस्तु किन सर्वसुलभ नभएको होला ?
स्वास्थ्य सम्बन्धी विषयवस्तु कम भएको हो किनभने मेडिकल डक्टरलाई पनि अङ्रेजीमा पढेको जटिल कुरा सरल नेपाली भाषामा व्यक्त गर्न गार्हो छ । धेरैलाई त रुची पनि छैन । धेरै कमलाई मात्र स्वास्थ्यको चेतनाको कार्यक्रम, विषयवस्तु ल्याउनु पर्छ भन्ने चाहना होला । अर्को कुरा नेपालीमा स्वास्थ्य सम्बन्धी आर्टिकल लेख्न पनि निकै गार्हो छ र डक्टरसँग समय पनि कम हुन्छ । स्वास्थ्य सम्बन्धी जानकारी खोज्ने , लेख्ने र त्यसलाई स्थानिय तहसम्म पुरयाउने काम चुनौतिपूर्ण कुरा हो । 
मलाई पनि एउटा आर्टिकल लेख्न झन्डै-झन्डै आठ घन्टा लाग्छ । त्यसैले यी विभिन्न कुराले पनि स्वास्थ्य सम्बन्धी जानकारी ब्लग , वेबसाइट  र अरु विभिन्न माध्यमबाट आउन नसकेको हो जस्तो लाग्छ मलाई !
यसको लागि के गर्नु पर्छ ?
काठमाडौंमा त स्वास्थ्य सम्बन्धी जानकारी कम छन भने विकट ठाउँमा स्थिती झनै नाजुक छ । मानिसहरुलाई साधारण भन्दा साधारण जानकारी पनि एकदमै कम छ । सरकारले प्रत्यक गाउँ विकास समितीमा एक जना चिकित्सकलाई पठाउनु पर्छ भने प्रत्यक ठाँउमा प्राइमरी हेल्थ सेन्टर खोल्नु पर्यो  । स्वाथ्य क्षेत्रमा सरकारले गर्नु पर्ने धेरै सुधार छन ।
अब एकैछिन मेरोरिपोर्टको कुरा गरौँ । तपाईंलाई मेरोरिपोर्ट कस्तो लाग्छ ?  
मैले फेसबुकबाट मेरोरिपोर्टको बारेमा थाहा पाएँ । मेरो विचारमा कुनै पनि व्यक्ति एउटै पेशा वा क्षेत्रमा मात्र सिमित हुनुपर्छ भन्ने छैन । म मेडिकल क्षेत्रमा मात्र नभएर साहित्य र अरु विभिन्न क्षेत्रमा अगाडी बढ्ने प्रयास गर्दछु । मेरो लागि मेरोरिपोर्ट एउटा उदाहरण भयो । विभिन्न क्षेत्रमा छरिएर रहेका ब्लगर्स जसले स्वास्थ्य, विज्ञान, वातावरण  आदी विभिन्न क्षेत्रमा लेखिरहनु भएको छ त्यसलाई एकै ठाउँमा ल्याएर सबैको सामु ल्याउने मेरोरिपोर्टको प्रयास  एकदमै राम्रो छ । ब्लगर्सलाई प्रोफेसनल बनाउने, आफ्नो भावना, विचार , ज्ञानलाई प्रस्तुत गर्न मेरोरिपोर्ट ले जसरी पहल गरेको छ यो एकदमै सराहनिय छ । 
भर्खरै मेरोरिपोर्टले एक वष मनाएको छ, त्यो मेरोरिपोर्टको एकदमै ठूलो सफलता हो ।  
म दिनको एक चोटी मेरोरिपोर्टको पोस्ट हेर्ने गर्छु । यसको माध्यमबाट मैले विभिन्न क्षेत्रमा युवाको सोचाइ कस्तो छ भन्ने बुझ्न धेरै सहयोग गरेको छ । 
मेरोरिपोर्टलाई के सुझाव दिन चाहनुहुन्छ ?
मेरोरिपोर्टले ब्लगर्सलाई प्रोत्साहन गरेको एकदमै राम्रो छ । तर यसको अरु संचार माध्यमसँग सहभागिता कम देखिएको छ । साथै मेरोरिपोर्टमा स्वास्थ्य क्षेत्र, वातावरण क्षेत्र, र अरु विभिन्न क्षेत्रमा भइरहेका गतिविधि, कार्यक्रम्, संचार माध्यममा भएका कार्यक्रमलाई पनि मेरोरिपोर्टमा लिन्क राख्न पाए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई ।