© डा. सुर्य पराजुली
प्राथमिक स्वास्थ्य केन्द्र, हरैचा |
नेपाल विश्वको एक प्राकृतिक सुन्दरताले भरिएको राष्ट्र हो । सानो राष्ट्र भए पनि यहाँ हिमाल, पहाड र तराईको प्राकृतिक विविधता पाइन्छ । मौसम र भौगोलिक अवस्था, रहनसहन आदिले यहाँका बासिन्दाहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । आज हामी नेपालको स्वास्थ्य क्षेत्रमा विद्यमान् संरचनाका सम्बन्धमा केही चर्चा गर्दैछौं । नेपाल सरकारको मातहतमा विभिन्न मन्त्रालय रहेको हामीलाई सर्वविदितै छ ।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय |
विभिन्न मन्त्रालयअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि एक हो, जसले स्वास्थ्य सम्बन्धका विविध पक्षमा अभिभावकत्व ग्रहण गर्दछ । नेपालमा अहिले विभिन्न प्रकारका उपचार पद्धतिहरु विद्यमान् छन् । यी फरक–फरक उपचार पद्धतिहरुका आ–आप्नै विशेषताहरु पाइन्छन् । नेपालमा अहिले सबैभन्दा बढी चलेको उपचार पद्धतिमा एलोप्याथिक उपचार पद्धति अर्थात् मोडर्न मेडिसिन उपचार पद्धति एक हो । यसबाहेक आयुर्वेदिक उपचार पद्धति, होमियोप्याथिक उपचार पद्धति, युनानी उपचार पद्धति र परम्परागतलगायत अन्य उपचार पद्धतिहरु छन् । नेपालमा धामीझाँक्रीप्रति विश्वास गर्नेको जमात् पनि ठूलै छ । नेपालमा आयुर्वेदिक उपचार पद्धति वि.सं. ९३५ बाट नै शुरु भएको पाइन्छ । राणा सरकारको पालामा सिंहदरबार वैद्य खाना स्थापना भएको थियो र यो अहिले पनि चलिरहेको छ । वि.सं. २०३८ साल असार ३१ गते विधिवत रुपमा आयुर्वेदलाई डिपार्टमेन्ट अफ हेल्थ सर्भिस (स्वास्थ्य सेवा विभाग) बाट अलग गरी आप्mनै संरचनामा डिपार्टमेन्ट अफ आयुर्वेद खोलिएको पाइन्छ । आयुर्वेदिक उपचार पद्धति अहिले नेपालमा फस्टाउँदो क्रममा छ । होमियोप्याथिक उपचार पद्धतिको शुरुआत नेपालमा वि.सं. २०१२ मा पशुपति होमियोप्याथिक अस्पतालको स्थापनाबाट विधिवत रुपमा भएको थियो । अहिले विभिन्न संघसंस्थाबाट पनि यो उपचार सेवा प्रदान गरिँदै आएको छ । एलोप्याथिक उपचार पद्धति सम्बन्धमा नै केन्द्रित रहन्छ । नेपालमा एलोप्याथिक उपचार पद्धति अठारौं शताब्दीतिर नै शुरु भएको पाइन्छ । बीचमा यो उपचार पद्धति अलि धर्मराएको थियो, पछि डाक्टर एच.ए. ओल्डफिल्डद्वारा जङ्गबहादुरको शासनकालमा यसलाई पुनर्जीवन प्रदान गरिएको थियो । सन् १९४७ मा काठमाडौंमा पृथ्वी वीर अस्पतालको नाममा खोलिएको नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नामबाट चलिरहेको हामीलाई थाहा नै छ ।
संसारमा एलोप्याथिक उपचार पद्धति ग्रिक र मेसोपोटामियाको सभ्यताबाट आएको पाइन्छ । प्राचीन ग्रिसका चिकित्सक हिपोक्याट्स आधुनिक औषधि विज्ञानका पिताका रुपमा सम्बोधित छन् । नेपालमा स्वास्थ्य जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव रहन्छन् । यसअन्तर्गत विभिन्न विभागहरु छन्, जसले नियम–कानुन तर्जुमा गर्ने, उपचार पद्धति निर्देशित गर्ने र खोज, छानविन तथा अभिभावकत्व ग्रहण गर्ने गर्दछन् । मन्त्रालयअन्तर्गत तीनवटा मुख्य विभागहरु छन्–स्वास्थ्य सेवा विभाग, आयुर्वेदिक विभाग, औषधि व्यवस्था विभाग । हामी स्वास्थ्य सेवा विभागमा केन्द्रित हुँदैछौं । स्वास्थ्य सेवा विभागअन्तर्गत सातवटा महाशाखाहरु केन्द्रीय स्तरमा छन् । बाल स्वास्थ्य महाशाखा, परिवार स्वास्थ्य महाशाखा, कुष्ठरोग नियन्त्रण महाशाखा, आपूर्ति व्यवस्थापन महाशाखा, व्यवस्थापन महाशाखा र भर्खरै खोलिएको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा छन् । त्यस्तै गरेर पाँचवटा केन्द्रहरु पनि छन् । तिनीहरुमा राष्ट्रिय क्षयरोग केन्द्र्र, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र हुन् । यी केन्द्र तथा महाशाखाहरु मन्त्रालयका मातहतमा रहन्छन् भने आपसमा समन्वय गरी चल्दछन् । यिनीहरुले क्षेत्रीय, अञ्चल, जिल्ला तहका शाखा–उपशाखाहरुलाई अभिभावकत्व प्रदान गर्दछन् । यसैगरी विभिन्न केन्द्रीय अस्पतालहरु पनि छन् ।
क्षेत्रीय तहमा प्रत्येक विकास क्षेत्रमा एक–एक गरी पाँचवटा क्षेत्रीय स्वास्थ्य निर्देशनालय पनि छन्, जसले एउटा विकास क्षेत्रको विभिन्न स्वास्थ्य कार्यालय शाखा–उपशाखा र कार्यक्रमहरुलाई निर्देशित गर्दछन् । पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटामा छ । यसैगरी क्षेत्रीय स्तरमा तीनवटा क्षेत्रीय र दुईवटा उपक्षेत्रीय अस्पतालहरु छन् । पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, हेटौडा अस्पताल, सुर्खेत अस्पताल, वीरगञ्जमा नारायणी उपक्षेत्रीय अस्पताल, दाङमा राप्ती उपक्षेत्रीय अस्पतालहरु छन् ।
नेपालका १४ अञ्चलमध्ये १० वटा अञ्चल अस्पतालहरु छन् । भेरी, नेपालगञ्ज, धौलागिरी, बाग्लुङ, जनकपुर, कोशी, मेची, सगरमाथा, लुम्बिनी, महाकाली, राप्ती र सेती अञ्चल अस्पतालहरु छन् । नेपालमा अहिले ७५ जिल्लाहरु छन् । जिल्ला स्तरमा ६५ वटा जिल्ला अस्पतालहरु, ६० वटा जिल्ला स्वास्थ्य कार्यालयहरु र १५ वटा जिल्ला जनस्वास्थ्य कार्यालयहरु छन् ।
स्वास्थ्य सचिब डा प्रबिण मिश्र |
यसैगरी निर्वाचन क्षेत्रका आधारमा २०८ वटा प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरु छन् । प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरको दरबन्दी रहने व्यवस्था छ । त्यसै गरी गाउँ विकास समिति र नगरपालिका तहमा स्वास्थ्य चौकी वा उपस्वास्थ्य चौकी रहने व्यवस्था छ । ६ सय ७५ वटा स्वास्थ्य चौकी र ३ हजार १ सय २७ वटा उपस्वास्थ्य चौकीहरु छन् । त्यसैगरी गाउँ र समुदाय स्तरमा महिला स्वास्थ्य स्वयंसेविका ४८ हजार ४ सय ८९ जना, पीएचसी आउट रिच क्लिनिक १३ हजार १ सय ८० र खोप–आउट रिच क्लिनिक १६ हजार ४ सय ७४ छन् । यी सबै सरकारी स्वास्थ्य संयन्त्रका अतिरिक्त निजी मेडिकल कलेज, अस्पताल, सामुदायिक स्वास्थ्य केन्द्र र क्लिनिकहरु छन् । यी सबैले एकआपसमा अन्तर्सम्बन्ध राख्दै स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । यस्तै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले पनि विभिन्न रोगमा हात हालेका छन् । नेपालमा केही ठाउँमा टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिएका छन् ।
अन्त्यमा, विश्व आधुनिकीकरणको यो युगमा नेपाल पनि अछुतो रहन सक्दैन । नेपालमा अहिले सञ्चार क्षेत्रले फड्को मारेको छ । यसलाई उपयोग गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याउन सकिन्छ । अहिले प्रायशः नेपालीको हातमा पुगेको मोबाइलबाट स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ । जनस्वास्थ्यसम्बन्धी विभिन्न जानकारीहरु, सुझावहरु, औषधि उपचार, शल्यक्रिया आदिका बारेमा खर्च जानकारी, औषधि प्रयोग, दुरुपयोगबारे सामान्य जानकारी, सम्पर्क ठेगानासम्बन्धी जानकारीबाहक मोबाइल, कम्प्युटर एप्लीकेशन बनाएर प्रयोगमा ल्याउन सकिन्छ । त्यस्तै गरेर स्वास्थ्यसम्बन्धी विभिन्न जानकारी भएका वेभसाइट र अनुसन्धानका बेभसाइटलाई दुरुस्त बनाउनुपर्दछ ।
नेपालमा मेडिकल टुरिजम, मेडिकल भिलेज, विद्यालय स्वास्थ्यजस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै एम–हेल्थ, ई–हेल्थजस्ता नयाँ प्रणालीको विकास आवश्यक भइसकेका छन् । आप्mनै बारीमा फलेका पहेंला फलपूmल र हरिया सागपात बेचेर भिटामिनको गोली किनेर खाने धारणामा परिवर्तन आवश्यक छ । अब तपाईं–हामी सबै मिलेर नयाँ स्वास्थ्य क्रान्ति गर्नु आवश्यक छ । तपाईंले स्वास्थ्यसम्बन्धी जानकारीहरु www.drsathi.blogspot.com मा पनि हेर्न र सुन्न सक्नु हुनेछ ।