Followers

199. Poem: Dear youth, will you support me for change?_हे युवा, दिन्छौ परिवर्तनमा साथ !!!






                                       © डा. सूर्य पराजुली, BPKIHS
www.drsathi.blogspot.com

हे युवा, दिन्छौ परिवर्तनमा साथ !!!
--------------------------------------------
हे परिवर्तनकारी युवा,
सिंहदरबारमा ढुंगा हानेर
कति युगलाई पछी पार्छौ
सडकमा टायर बालेर
कति दिन युद्ध रच्छौ
संविधानका मस्यौदा जलाएर
कति गिज्याउछौ भित्ताका सर्टिफिकेटहरुलाई !

ए बिदेशीन लागेका युवा,
आमाको ममतालाई लात मारेर
श्रीमतीको चाहनालाई सखाप पारेर
कति दौडन्छौ बिदेश

हे बिदेशीएका युवा,
बिदेशमा बसेर फेसबुकका भित्ताहरुमा
कति गर्छौ देशलाई गाली
किन सधै देख्छौ नेतालाई फटाहा र जाली !

हे पार्टीमा लागेका युवा,
लोकतन्त्रको नारा चर्काउने तिमी,
आफ्नै पार्टी भित्र बलात्कृत तिमी कति सहन्छौ !

हे लेखक युवा,
अरुका लागि कलम चलाउने तिमी
कलम भाँच्ने आफ्नैका बिरुद्ध किन लेख्न सक्दैनौ !

हे साहित्यकार युवा,
किन नयाँ साहित्य
मध्यपान र धुमपान बिना सोच्नै सक्दैनौ !


हे डाक्टर युवा,
भित्तामा डिग्री झुन्डाएर
किन आफै स्वास्थ्य मन लिएर बाच्न सक्दैनौ
रोगी आफ्नै गाउँ किन चिन्दैनौ !

हे ईन्जिनियर युवा,
आफ्नै घरको चर्केको भित्ता,
दिर्घकालसम्म
किन टाल्न सक्दैनौ !

हे मोडेल युवा,
ग्लामरको दुनियामा कथाले मागेको र आधुनिक भन्दै
कति बेच्छौ र बेचाउछौ आफ्नै अस्मिता !

त्यसैले,
सिहदरवारमा ढुंगा हानेर हैन - त्यसलाई रंगाएर,
टायर बालेर हैन - सडक बढारेर,
सक्छौ भने एक पाना संबिधान लेखेर,
देशमै उद्यमशीलता रचेर,
देशलाई विश्वमा चिनाएर,
पार्टीमै लोकतन्त्र खोजेर,
कलम भाँच्ने आफ्नै घरका चिनेर,
कुलत रहित सृजना रचेर,
रोगी गाउँ चिनेर,
चर्केका भित्ता टालेर,
संस्कृतिका बिकृति फालेर,
हे यूवा,

दिन्छौ परिवर्तनमा साथ !