Followers

124. Misuse of Antibiotics (एन्टिबायोटिकः दुरुपयोगको परिणाम) BY डा. लोक बहादुर श्रेष्ठ

डा. लोक बहादुर श्रेष्ठ
सूक्ष्मजैबिकी एवं सरुवा रोग विशेषज्ञ अध्ययनरत 
बि.पि.को.स्वा.वि.प्र., नेपाल 
एन्टिबायोटिक भन्नाले कुनैपनि बस्तु जसले जीवाणुलाई नाश गर्ने वा वृद्धिलाई रोक्ने गर्दछ र मानिसलाई रोगबाट छुटकारा दिलाउछ। सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पेनिसिलिन निकालेर एन्टिबायोटिक आविष्कार गरेका हुन। यसको आविष्कारले हाम्रो मानव जीवनमा ठुलो योगदान दिएको छ। कुनै समयमा ज्यान लिन सक्ने रोगहरु अहिले सजिलै निको पार्न सकिन्छ। आधुनिक युगमा सबैभन्दा धेरै प्रयोग गरिने औषधिहरुमा एन्टिबायोटिकहरु नै पर्छन्। 

एन्टिबायोटिक हाम्रो लागि यति लाभदायी भएतापनि यसको दुरुपयोगले भने धेरै नै नोक्शानी हुने गर्दछ। रोग पत्ता नलागी जथाभावी खानु, डोज पूरा नगर्नु, डाक्टरको पुर्जा बिना कीन बेच हुनु, अयोग्य व्यक्तिले औषधि पसल चलाउनु जस्ता समस्याले एन्टिबायोटिकको दुरुपयोग भइरहेको छ।

विकसित देशहरुमा एन्टिबायोटिक किन्न लाई डाक्टरको पुर्जा अनिबार्य हुनुपदर्छ, पुर्जा बीनाको किन बेच गैर कानुनी ठहर हुने गर्दछ। औषधि पसल चलाउनलाई उचित शिक्षा लिएको हुनुपर्दछ। बिरामीले पनि डाक्टरको सल्लाह अनुसार, रोग पत्ता लागेपछि मात्र औषधि खरिद गर्ने गर्छन। हाम्रो देशमा भने स्थिति बेग्लै छ, साधारण रुघा खोकी मात्र लाग्दा पनि सिधै औषधि पसलमा गएर एन्टिबायोटिक माग्ने गरिन्छ। बिरामीको रोग के हो, केहि नबुझिकन औषधि किन बेच हुन्छ र बिरामीले खान्छन पनि। त्यति गर्दा पनि निको भएन भने मात्र अस्पताल जाने गरिन्छ।

यदि समयमै  जाच गराएको खण्डमा बिरामीको लक्षण अनुसार, प्रयोगशालाको रिर्पोट, एक्स रे आदिको रिर्पोट हेरेर आवश्यकता अनुसार उचित उपचार पाईन्छ। औषधि चाहिने वा नचाहिने, कुन औषधि कसरी खाने, यसको नकरात्मक असर के हुन सक्छन सबै कुरा को जानकारी पाईन्छ।

एन्टिबायोटिकको जथाभावी प्रयोगले सुक्ष्मजीवाणुहरु त्यस एन्टिबायोटिकसंग लड्ने क्षमता विकास गर्दछन र बिस्तारै यसको प्रभाव कम हुदै जान्छ। कालान्तरमा यसले कुनै पनि जीवाणु लाई नाश गर्न सक्दैन। त्यसपछि हामी अरु नयां र महंगा औषधितिर लाग्न बाध्य हुन्छौ। शुरुमा पेनिसिलिनले सजिलै नाश गर्नसक्ने जीवाणुहरु अहिले आएर यसलाई सजिलै पचाउन सक्ने भएका छन। पछि आविष्कार भएकाहरु पनि केहि बर्षमै काम नलाग्ने हुने गरेका छन्। एउटा जीवाणुले आफुसग भएको लड्न सक्ने क्षमता अरुलाई पनि सार्न सक्छन। यसरी धेरै भन्दा धेरै जीवाणुहरुमा प्रतिरोधको क्षमता विकास भएको पाईन्छ। यो सबै कुराले प्रमाणित गर्दछ कि एन्टिबायोटिकको धेरै प्रयोग वा दुरुपयोगले भविष्यमा यसको उपयोगिता कम हुदै जान्छ र कामै गर्न छाड्ने दिन पनि नआउला भन्न सकिन्न।
के गर्न सकिन्छ?
सर्बप्रथम त यसको प्रयोग बारे जनचेतना हुन अत्यावश्यक छ। बिरामी परेपछि डाक्टरको सल्लाहपछि मात्र औषधि खानुपर्छ, कुन औषधि कसरी खाने, कति दिनसम्म खाने सबै कुराको ख्याल राख्नुपर्छ। सरकारले पनि योग्य व्यक्तिलाई मात्र औषधि पसल खोल्ने अनुमति दिनु पर्छ र लागू भए नभएको निगरानी राख्नु पर्छ। डाक्टरको पूर्जीबिना औषधि किन बेच लाई रोक्नु पर्छ।