Followers

127. मानसिक स्वास्थ्य र ज्येष्ठ नागरिक (Mental Health & Older People) _World Mental Health Day 2013

डा. धनरत्न शाक्य, एमडी
वरिष्ठ स्नायु, दुर्ब्यसन   तथा मनोरोग विशेषज्ञ

मानसिक स्वास्थ्य र मनोरोगको बारेमा समाजमा त्यत्ति चर्चा, प्रचारप्रसार र जनचेतना छैन । त्यसैले, यसतर्फ वाञ्छित् ध्यान र प्राथमिकता पुग्न सकेको छैन । त्यस्तै, वर्तमान नेपाली समाजमा वृद्धहरुको समस्या र आवश्यकतातर्फ कम मात्र ध्यान पुगेको देखिन्छ । अक्टोवर १० को यस वर्ष सन् २०१३ को विश्व मानसिक स्वास्थ्य दिवसले जुन ‘मानसिक स्वास्थ्य र वृद्ध मानिस’ (Mental health and older people) भन्ने मूलनारा अंगीकार गरेको छ त्यो हाम्रो यस्तो परिप्रेक्ष्यमा अझ सान्दर्भिक भएको छ । 

समय सगसगै मानव जातिको जीवन अवधि वा उमेर पनि समुच्चमा बढ्दै गैरहेको छ । विश्व स्वास्थ्य संघले सन् २००० बाट २०५० सम्ममा ६० वर्ष र माथिका वयस्क नागरिकहरु जनसंख्याको ११% बाट बढेर २२% पुग्ने प्रक्षेपण गरेको छ । स्वास्थ्य स्तर र सेवाको विस्तार र प्रगतिसगै यसरी दिनानुदिन बढ्दै गइरहेको वृद्धहरुको संख्याले यी आदरणीय ज्येष्ठ नागरिकहरुको समाज र राष्ट्रको जीवनमा रहने अविच्छिन्न योगदान,  निवृत्तिभरणपछिको शक्रिय जीवन र अझ पाको उमेरका वृद्धहरुको संख्यामा पनि बृद्धि हुने संकेत मिल्छ । 

विशेष गरी हाम्रो जस्तो विकासशील मुलुकहरुमा भने साधन श्रोत र प्राथमिकताको कमिले गर्दा उहाहरुको समस्या, आवश्यकता र स्वास्थ्यमा यथोचित ध्यान पु-याउन नसकिएको यथार्थ टड्कारो रुपमा देखा परेको छ । यी वृद्धहरुको स्वास्थ्य समस्याले सम्पूर्ण परिवार र समाजको अवस्था नै प्रभावित हुने भएको हुनाले अबको विश्वमा यो दिनानुदिन जल्दोबल्दो विषय बन्दै गएको छ । समयमा नै यसबारे व्यक्तिगत, पारिवारीक, सामाजिक र राष्ट्रिय स्तरमा नै जनचेतना, जागरुकता जगाउन र आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यकतातर्फ औंल्याउन यस वर्षको नाराले घच्घच्याइरहेको छ । 

बढ्दो उमेरसगै व्यक्तिको अनुभव, ओहदा र स्थान एकातिर उच्च हुदैजान्छ । अर्कोतिर सगसगै शरीर, मन, मस्तिष्कमा कमजोरी पनि पैदा हुदैजान्छ । वृद्ध अवस्थाले हरेक मानिसलाई पर्खिरहेको हुन्छ र यस अवस्थामा शरीर र मनमस्तिष्क, अर्थात् स्वास्थ्य समस्याले गाज्ने गर्छ । उच्च रक्तचाप लगायत्का मुटु रक्तसञ्चारका रोगहरु, मधुमेह, छाती फोक्सोका समस्या, अर्वुदरोग जस्ता जीर्ण रोगहरुको पनि मार अधिक हुन्छ ।

 यस लेखकको समूहबाट पुर्वाञ्चलको एक शहरमा भएको अध्ययनमा ६० वर्ष नाघेका करीब ७८%  वृद्धहरुमा एक न एक स्वास्थ्य समस्या, ७०% मा शारिरीक र ४०% मा मानसिक समस्या भेट्टिएको हो । उच्च रक्तचाप, मधुमेह, पाचन र पेटका रोग, थाइरोइडको समस्या लगायत्का शारिरीक तथा उदासिन (डिप्रेशन), छट्पटी (एन्जाइटी), शारिरीक लक्षणहरु हावी हुने (सोमाटोफोर्म) र तनाबमा समायोजनमा समस्या भई उत्पन्न मानसिक समस्याहरु (Stress related disorders)  मूलतः यहाका वृद्धहरुमा देखिएका छन् । जाड रक्सि र अरु नशालु पदार्थको लत तथा डिमेन्सिया जस्ता बढ्दो उमेरले निम्टिने रोगहरु पनि अरु सरोकारको विषय भइरहेको छ । तर अधिकांश वृद्धहरु उपचार र हेरचाहबाट बञ्चित रहेको पाइयो । 

परिवारजन, समाज र राज्यको यी वृद्ध नागरिकहरुप्रतिको उदासिन दृष्टिकोण र व्यवहार आजको बडो लज्जाजनक यथार्थ भएको छ । 

यस दिवसले सम्बन्धित सबैलाई समाजका लागि भर जन्म योगदान दिएर वर्तमानमा वृद्ध बनेका यी ज्येष्ठ नागरिकहरुको यथोचित आदर गर्न प्रेरणा मिलोस् । आवश्यक स्वास्थ्य र अरु सेवाको विस्तार र प्रवद्र्धनका लागि संवेदनशील भएर लागि पर्न, नीति निर्माण र योजना बनाउन तथा पैरवी गर्न यथेष्ठ बल मिलोस् । बालक तथा किशोरहरुको निश्छलता, युवा शक्ति र वृद्धहरुको ज्ञान र अनुभवले हाम्रो देश पनि प्रगति पथमा लम्कियोस्, यो दिवसले हामीलाई यसतिर उन्मुख बनीरहन उत्प्रेरणा मिलोस् ।