Followers

२०९. दाँतको सडन - यसो गरेमा बच्न सकिन्छ !!! BY डा . बिश्व प्रकाश ठाकुर

डा. बिश्व प्रकाश ठाकुर
दन्त चिकित्सक
dr.bsothakur@yahoo.com


---------------------------------------------------
तपाईको दात २४ क्यारेट सुन भन्दा पनि महँगो छ,
तसर्थ, यसको हेरचाह राम्ररी गर्नुहोस |
पृष्ठभूमि 
“डाक्टर साब ! मेरो दात एकदम दुखिराखेको छ | केहि खान पनि मिलेको छैन | दात सडेर खाल्डो भएको छ, त्यसैले खान पनि अड्किन्छ | सार्है समस्या दियो यो दातले, केहि उपचार गरिदिनुस या त दातनै झिकिदिनुस |”  यस्तो समस्या तपाईहरुलाई पनि पक्कै भएको होला | यस्तो समस्याबाट कसरि बच्न सकिन्छ र यदि यस्तो समस्या आएमा के गर्न सकिन्छ भन्नेबारे छलफल गरौं| Prevention is better than cure” अर्थात रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हो | तसर्थ यस्तो समस्याबाट बच्न उपाय अपनाउनु भयो भने रोग लाग्दैन |

परिचय 
सर्वप्रथम दातको बनावाट (anatomy) को बारेमा बुझौं, जसले गर्दा दातको समस्याको रोकथाम गर्न सजिलो हुनेछ | दातको दुई भाग हुन्छ, जसलाई क्राउन (crown)दातको देखिने भाग र रूट (root) दातको जरा भनिन्छ | दातको बनावट  इनामेल(enamel), डेन्टिन(dentin), पल्प(pulp), सिमेन्टम(cementum)ले भएको हुन्छ |

इनामेल (Enamel)यो क्राउनको सबभन्दा बाहिरी भाग हो | यो हलुका पहेलो रंग देखि सेतो रंग सम्म हुन्छ | यो हाम्रो मानव शरीरको सबभन्दा कडा भाग हो | यसमा रक्त नली (blood supply)तथा नशा (nerve supply) केहि हुदैन त्यसैले इनामेलमा मात्र दात सड्दा, चोट लाग्दा वा टुक्रा हुदा दुखाइ हुदैन |

डेन्टिन(Dentin)– इनामेलको भित्रि तहमाडेन्टिन हुन्छ | डेन्टिन दातको क्राउन र रूट गरि दुबैभागमा पाइन्छ | यसको बनावट हेर्ने हो भने यो डेन्टिनल ट्युबुल्स (dentinal tubulesहरु मिलेर बनेको हुन्छ| डेन्टिनल ट्युबुल्सहरु भनेको सानो सानो नलीहरू हो जसको भित्र पल्प बाट आउने नशाहरु पाइन्छ | यो नली भित्र नशा पाइने हुनाले कुनै पनि दात सडेर डेन्टिन सम्म पुगेको  अथवा दात भाचेर डेन्टिन देखिएको खण्डमा, चिसो वा तातो खादा दात सिरंग-सिरिंग गर्छ जसलाई हामी डेन्टिनल हाइपरसेन्सीटिभिटि(dentinal hypersensitivity) भन्छौं |

सिमेन्टम (Cementum) – यो दातको “रूट” अर्थात जराको सबभन्दा बाहिरी तह हो | जसरि “क्राउनको” बाहिरी तह इनामेल हो, त्यसरी नै जराको बाहिरी तह सिमेन्टम हो | यो इनामेल भन्दा कम्जोर हुन्छ र यसमा नशा र रक्त नलीहरु केहि पाइदैन | यसले जरामा भएको डेन्टिन र पल्प लाई छोपेर राखेको हुन्छ |

पल्प (Pulp) – यो दातको सबभन्दा भित्रि तह हो | यो एउटा कोठा (chamber)जस्तै हुन्छ, जसमा रक्तनली र नशाहरु हुन्छ | दातको क्राउनमा हुने पल्प लाई कोरोनल पल्प (coronal pulp) र रूटमा हुने पल्प लाई रेडीकुलर पल्प (radicular pulp) भनिन्छ | प्रत्येक दातको जरामा रूट क्यानल (root canal) हुन्छ जसमा रेडीकुलर पल्प हुन्छ | यदि दात सडेर पल्प सम्म पुगेको छ भने दातमा असाध्है पिडा हुन्छ | यस्तो बेलामा दात भएको सबै पल्प निकाल्नु बाहेक अरु विकल्प हुदैन |

दाँतको सडन
दातको बनावट पछी दात कसरी सड्छ, त्यसको बारेमा छलफल गरौं |

दात सड्नको लागि चाहिने कारक तत्वहरु निम्न छन् :
क.    गुलियो खाना
ख.    दात
ग.     किटाणु (bacteria)

गुलियो खाना खादा वा खाइसकेपछी दात राम्ररी सफा गरिएन भने ति खानाहरु दातमा अड्केर बसेको हुन्छ | प्राय गरेर ति खानाहरु दुई दातबिचको भागमा र दातको सतहमा टासिएको हुन्छ | हाम्रो स्वास्थ्य मुखमा streptococcus, lactobacillus जस्ता जीवहरु सधै पाइन्छ | यी किटाणुहरुले दातमा अड्केको र टासेको खानाहरु माथि reaction गरेर अम्ल (acid) बनाउछ र यो अम्लले दातलाई सडाउदै लैजान्छ | 

दात सड्ने क्रममा सबैभन्दा पहिले दातको इनामेल सड्छ | इनामेल सड्ने बेलामा दातमा न त दुखाई नै हुन्छ न त सेन्सीटिभिटि नै हुन्छ | त्यसैले यो समयमा हाम्रो दात स्वास्थ्य छ जस्तो लाग्छ तर वास्तविकतामा भन्नुपर्दा दात सड्न सुरु भैसकेको हुन्छ | दात सडेर अलिकति गहिरो भयो भने त्यसमा खाना अड्किनु बाहेक अरु केहि समस्या देखा पर्दैन, त्यसैले यो अवस्थामा प्राय मानिसले जानी जानी दातको उपचार गर्दैन | यस्तो खालको दातको सडनलाई इनामेल केरिज (enamel caries) भनिन्छ | यो अवस्थामा दातको उपचार गरेमा थोरै समयमा  दातको उपचार हुनुको साथ साथै धेरै खर्च पनि पर्दैन र दात पनि जोगिन्छ | दातमा सिमेन्ट, चाँदी, कम्पोजिट आदि भर्ना सकिन्छ र दातलाई स्वास्थ्य बनाउन सकिन्छ |

इनामेल केरिज को उपचार गरिएन भने दात सडेर डेन्टिन सम्म पुग्छ र डेन्टिनल केरिजगराउछ |डेन्टिनमा भएका डेन्टिनल ट्युबुल्सहरु खुल्छन् र त्यसमा भएका नसाहरु excite हुन्छन् जसले गर्दा  चिसो, तातो केहि खादा दात सिरिंग – सिरिंग गर्छ जसलाई डेन्टिनल हाइपर सेन्सीटिभिटि(dentinal hypersensitivity) भनिन्छ | यो समयमा पनि उपचार गराइयो भने दात बलियो नै हुन्छ र जोगाउन पनि गार्हो हुदैन | यस्तो समयमा उपचार गर्ने प्रबिधिलाई डिप केरिज म्यानेजमेन्ट (deep caries management – DCM)  भनिन्छ |डेन्टिनल ट्युबुल्सहरुलाई सील गर्यो भने केरिज लाई दातको पल्प सम्म पुग्न बाट बचाउन सकिन्छ |

कसैले डेन्टिन सम्म पुग्दा पनि दात को उपचार गरेन भने दातको सडन पल्प सम्म पुग्छ, यो अवस्थालाई पल्पाईटिस (pulpitis) भनिन्छ | यस्तो अवस्थामा दातको दुखाई एकदम पिडादायक हुन्छ जसले गर्दा उक्त दातबाट खाना खान समेत सकिदैन | प्राय गरेर धेरै जस्तो मानिसहरु यो अवस्था आएपछी मात्र दातको उपचार गराउन भनेर दन्त चिकित्सककोमा जान्छन् | यस्तो अवस्थामा दातमा  भाएको सबै पल्पलाई निकालेर , त्यसलाई सफा गरी औषधि राखिन्छ | यस्तो उपचारलाई आर. सी. टि ( RCT Root Canal Treatment ) अर्थात रुट क्यानल ट्रेटमेन्ट भनिन्छ |

रुट क्यानल ट्रेटमेन्ट (Root Canal Treatment – RCT)


रुट क्यानल ट्रेटमेन्टमा दातमा भएको सबै पल्प (नशा र रक्तनलीहरु) निकालिन्छ र क्यानललाई  सफा गरेर औषधि राखिन्छ | औषधि राखेको केहि दिनपछी क्यानललाई गट्टा पर्चा (gutta percha)ले जरैदेखि  भरिन्छ | यो उपचार गर्न केहि दिनको समय लाग्छ, त्यसकारण बिरामीलाई उपचारको लागि २-३ पटक आउनुपर्छ | यति मात्र नभएर यस्तो खालको उपचार महँगो पनि हुन्छ | RCT गर्दा दातमा भएका सबै रक्त नलीहरु र नशा निकालिएकोले दात्लाई बलियो बनाउने तत्वहरु दातले पाउन छोड्छ र केहि समय पछी दात कम्जोर हुदै जान्छ | दात कमजोर नहोस भनेर RCT गरेको दातमा खोल/क्याप  (crown) राख्नुपर्छ जसले दातलाई बचाएर राख्छ | खोल/क्याप (crown) राख्दा अझ बढी समय चाहिन्छ र यो पनि महँगो हुन्छ |

त्यसैले दातलाई स्वास्थ बनाउने हो भने हरेक ६-६ महिनामा आफ्नो दातको परीक्षण गराइरहनु पर्छ | दात सड्न लागेको छ भने  समयमै उपचार गराउनु पर्छ, जसले गर्दा समय र पैसाको बचत मात्र नभई दात को आयु पनि बढाउछ |

दात सड्न बाट बच्न अपनाउनु पर्ने उपायहरु :
क.    फ्लोराइडयुक्त मन्जनले राम्रो संग दिनको दुई पटक दात सफा गर्ने
ख.    दुई दात बिचको भागमा सफा गर्न डेन्टल फ्लोस (dental floss)को प्रयोग गर्ने
ग.    दात सफा गरेपछी, सफा औलाले गिजाको मालिस गर्ने
घ.     जिब्रो सफा गर्ने
ङ.      गुलियो खाने कुरा सकेसम्म कम खाने , खाइसकेपछी राम्रो संग पानीले कुला गर्ने
च.     ६-६ महिनामा दन्त परीक्षण गराइराख्ने
छ.    दातमा अथवा मुखमा कुनै पनि समस्या देखा परेमा दन्त चिकित्सकको परामर्स लिने
ज.    चुरोट, रक्सि, बिडी, सिगरेट, सुर्ती, गुटखा जस्ता हानिकारक पदार्थको सेवन नगर्ने

                  धन्यबाद 




No comments:

Post a Comment