©डा. सूर्य पराजुली
www.drsathi.blogspot.com
|
पृष्ठभूमि
केही वर्ष अघिसम्म नेपालमा डेङ्गुका बारेमा हामीले न त सुनेका थियौं, न त पढेका नै थियौं तर आजसम्म आइपुग्दा यो झन्डै महामारीको अवस्थामा देखिन थालेको छ । गत साता झापामा व्यापक रुपमा डेङ्गु संक्रमण देखिएको थियो । त्यसैले आज हामी यसै सन्दर्भमा गहिरिएर लाग्दैछौं ।
विश्वको स्थिति
झन्डै ३ सय वर्षअगाडिबाट डेङ्गु उष्ण प्रदेशीय देशको लागि टाउको दुखाइको विषय बन्दै आइरहेको छ । सन् १६३५ मा फ्रेन्च ओएस्ट इन्डिजमा यो पहिलोपटक महामारीको रुपमा देखिएको थियो । १७ औं, १८ औं, १९ औं र २० औं शताब्दी भर फाटफुट महामारीको रुपमा डेङ्गु देखिएको थियो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अध्ययन गर्दा डेङ्गु संक्रमण संख्या र संक्रमित देशको संख्या अपत्यारिलो तरिकाले उच्च रुपमा वृद्धि हुँदै गइरहेको छ । सन् १९९०–१९९९ बीच करिब ०.४७ मिलियन रहेको डेङ्गु रोगीको संख्या सन् २०००–२००८ सम्म आइपुग्दा ३ गुणाले बढ्दै १.६६ मिलियन पुगेको थियो । यो सांच्चै भयावह स्थिति पनि हो । संसारभरका करिब २.५ बिलियन व्यक्तिहरु डेङ्गु संक्रमणको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनका विभिन्न तथ्याङ्कबाट देखिन्छ । ५० मिलियन डेङ्गु संक्रमण प्रत्येक वर्ष देखिने गर्दछ । झण्डै ५ लाख मानिसहरु प्रत्येक वर्ष यसैका कारण अस्पताल भर्ना हुने गर्दछन् ।
दक्षिण पूर्वी एशियाको स्थिति
करिब ७५ प्रतिशत (१.३ बिलियन) डेङ्गु संक्रमण दक्षिण पूर्वी एसियामा मात्र हुने गर्दछ । सन् २००३ सम्ममा यस क्षेत्रका ८ वटा देशमा डेङ्गु संक्रमण देखिएकोमा सन् २००४ बाट नेपाल, भुटान तथा तिमोर–लिस्टेले पनि विश्व स्वास्थ्य संगठनलाई डेङ्गु संक्रमणबारे जानकारी गराएका थिए । श्रीलंका, बंगलादेश र भारतमा डेङ्गु संक्रमण दर ह्वात्तै बढेको छ । डेङ्गु सार्ने विषाणुको जाति–प्रजाति पनि सबैतिर फैलादो क्रममा छ ।
नेपालको स्थिति
नेपालमा सन् २००४ मा पहिलोपटक एक जना जापानी स्वयंसेवकमा डेङ्गु संक्रमण देखिएको थियो । सन् २००६ मा भने यसले महामारीको रुप लियो । झन्डै १ सय ४० जना संक्रमित भएको अनुमान गरिएकोमा ३२ जना डेङ्गु प्रभावित पुष्टि भएको थियो । सन् २००७ मा २७ जना, २००८ मा १० जना, २००९ मा ३० जना संक्रमित भएको अनुमान गरिन्छ । यता २०१० मा भने डेङ्गु संक्रमणले नेपाललाई त्रसित बनायो, जुन बेला करिब ९ सय १७ जनालाई संक्रमण भएकोमा ५ जनाको त मृत्यु नै भयो । यसले गर्दा नेपालको तराई क्षेत्रमा आतङ्क नै सिर्जना पनि गरेको थियो । सन् २०११ मा करिब ११९२ जनालाई डेङ्गु संक्रमण भएको अनुमान गरिएको थियो । सन् २००६ मा बाँके, दाङ, पर्सा, बर्दिया, काठमाडौं, रुपन्देही, झापा, कपिलवस्तु, धादिङमा डेङ्गु संक्रमण पुष्टि भइसकेको छ ।
सन् २०१२ मा डेङ्गु संक्रमण नेपालका विभिन्न ठाउामा फाटफुट देखिादै जाँदा झापामा भने गत सातासम्म आतङ्क नै मच्चाएको थियो । यसबीचमा देशका अरु भागमा केही मृत्युका खबरहरु पनि आएका छन् । अक्टोबर ३१ बाट डेङ्गु संक्रमण शुरु भएकोमा नोभेम्बर ३० सम्ममा करिब ६६ जना डेङ्गु रोगी प्रमाणित भएको झापा जिल्ला उच्च जोखिममा रह्यो । एक महिनाको छोटो अवधिमा यति धेरै संक्रमित हुनुबाट यो रोग महामारीको रुपमा सजिलै फैलन सक्ने पुष्टि भइसकेको छ । मकवानपुरको मनहरी गाविसमा अक्टोबर ७ मा ७ जनालाई डेङ्गु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको थियो । यसैगरी सेप्टेम्बर ७ मा चितवनमा करिब १६ जनालाई डेङ्गु संक्रमण भएको थियो । सेप्टेम्बर १ मा कैलाली जिल्लाको दोदोधरा गाविसमा एकजनाको मृत्यु डेङ्गुबाट बाट भएको समाचार आएको थियो । यसै वर्षको अगष्ट २१ तारिखमा दाङको भालुवाङमा २ वर्षकी बालिकामा डेङ्गु संक्रमण पत्ता लागेको थियो । जुन ४ तारिखका चितवनमा दुईजना डेङ्गु रोगी भेटिएका थिए
परिचय
डेङ्गु एक भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् । डेङ्गु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइन्छन्, जसलाई डेङ्गु भाइरस १,२,३,४ भनिन्छ । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ । यो लामखुट्टेको विशेषता अरु लामखुट्टेभन्दा फरक प्रकृतिको छ । यसले दिउसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ । आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ । सन् २००३–४ मा श्रीलंकामा गरिएको एक अनुसन्धानले यी लामखुट्टेहरु मुख्यत: पानी संकलन गर्ने कन्टेनर, फालिएका टायर, गमला, कुलो तथा पानी भरिएका खाल्डाहरुमा देखिएका थिए । थाइल्याण्डमा गरिएको एक अनुसन्धानले डेङ्गुको संक्रमण भएमा ५ सय गुणा बढी डेङ्गु हेमोरेजिक ज्वरो हुने पुष्टि भएको छ । डेङ्गु ज्वरोमा रगतसम्बन्धी असर भएर प्लेटलेट्सको संख्या अध्याधिक कम हुने जटिलता बढ्दछ । हालसालै नेपालमा सबै प्रकारका भाइरस पाइनु र संक्रमण दर बढ्दै जानुले भविष्यमा भयावह अवस्था नल्याउला भन्न सकिन्न ।
लक्षण तथा चिह्नहरु
डेङ्गु भाइरस संक्रमणपश्चात् कतिपयमा कुनै लक्षण तथा चिह्नहरु नै नदेखिने हुन सक्दछ । लक्षण तथा चिह्न देखिएकामा पनि कसैलाई साधारण ज्वरो मात्र आउने गर्दछ भने कसैलाई रगत नजम्ने जटिलता हुन्छ । कसैको चाहि यस्तो स्थितिमा पुगेर मृत्युसमेत हुने गर्दछ । विश्व स्वास्थ्य संगठनले डेङ्गु संक्रमणलाई विभिन्न तरिकाले विभाजन गरेको छ । साधारण प्रकारको डेङ्गु ज्वरोमा अत्याधिक १०३–४ डिग्री सेन्टिग्रेडसम्म ज्वरो आउने, टाउको दुख्ने, आाखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, छालामा रगत जमेका राता खटिराहरु देखिने गर्दछन् । कसै–कसैमा थप जटिलताहरु उत्पन्न हुन सक्दछन् । जसमा विस्तारै रगतमा रहेका प्लेटलेट्सको संख्या घट्दै जान्छ । प्लेटलेट्स रगत जमाउने महत्वपूर्ण तत्व हो । अझ जटिलता बढ्दै गएमा शरीरका विभिन्न भागबाट आँफै रगत बग्न थाल्दछ । जस्तो: नाक, गिाजा आदिबाट भने पिसाबमा रगत देखिने, रगत बान्ता गर्ने, दिशा कालो हुने हुन्छन् । पिसाबको मात्रा कम हुनु, श्वास फेर्न गाह्रो हुनु आदि । डेङ्गु संक्रमणमा बुझ्नुपर्ने महत्वपूर्ण कुरा पहिलो तीन दिन अत्याधिक ज्वरो आउाछ । त्यसपछिका चौथो र ५ औ दिन अति नै संवेदनशील दिनहरु हुन् । क्रमश: रक्तचाप घट्ने, शरीरमा रगतको कमी हुने, शरीरका महत्वपूर्ण अंगले काम गर्न छोडेर मानिसको मृत्यु हुन जान्छ, जसमा बिरामीका अंगहरुले काम नगरी मानिसको मृत्यु पनि हुन सक्दछ तर यसपछिका छैठौंदेखि दशौं दिनभित्रमा पुन: साधारण जीवन प्रक्रियातर्फ फर्किन थाल्दछ ।
उच्च जोखिममा पर्ने वर्गहरु
एक वर्षभन्दा मुनिका बच्चाहरु र ६० वर्षमाथिका वृद्धवृद्धाहरु, मोटोपन भएका व्यक्तिहरु, गर्भवती महिला, पेप्टिक अल्सर भएकाहरु, रगत नजम्ने रोग भएका जस्तो: थ्यालेसेमिया, जन्मजात मुटुका रोगीहरु, मधुमेह, उच्च रक्तचाप, कलेजोको सिरोसिस, मृगौला फेलियर भएका दीर्घ रोगीहरु, स्टेरोइड, पेनकिलर आदि प्रयोग गरिरहेकाहरु उच्च जोखिममा पर्दछन् ।
उपचार पद्धति
डेङ्गु भाइरल संक्रमण हो । प्राय: भाइरल संक्रमणमा हामीले लाक्षणिक तथा सहयोगी उपचार प्रक्रिया अपनाउने गर्दछौं । यसको आफ्नै एन्टीभाइरल औषधि भने छैन । चाँडोभन्दा चाँडो रोगको पहिचान गर्नु अत्यन्त आवश्यक छ । समयमै उपचार शुरु गर्दा जटिलता र मृत्युबाट बाचाउन सकिन्छ । हिजोआज नेपाल सरकारले डेङ्गु प्रभावित जिल्लाका स्वास्थ्य संस्थाहरुमा नि:शुल्क र्यापिड डाइगोनोष्टिक टेस्ट किट RDT उपलब्ध गराएको छ । तसर्थ, माथिका लक्षण देखिएमा तुरुन्त परीक्षणको लागि जानुपर्दछ ।
एस्प्रिन, आइबुप्रोफिन लगायतका औषधिको जथाभावी प्रयोग गर्नु हुादैन । बिरामीले प्रशस्त पानी तथा झोल पदार्थहरु सेवन गर्नुपर्दछ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्दछ ।
डेङ्गु सर्ने तरिका
अहिलेसम्म डेङ्गु भाइरल मानिसबाट मानिसमा सरिसकेको छैन । डेङ्गु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्दछ । लामखुट्टेको कारणभन्दा पनि मानिसहरुको तीव्र बसाइा सराइ र भ्रमणले यो सार्न सहयोग गरिरहेको छ ।
डेङ्गुबाट बँच्ने उपायहरु
दिउासो टोक्ने लामखुट्टे एडिज हो । तसर्थ, यसको संक्रमणबाट बाच्नु एकदम महत्वपूर्ण छ । थोरै र सफा पानी जम्न सक्ने भाँडाहरु जस्तो: गाडीका काम नलाग्ने टायर, खाली बट्टा, गमला, कुलर आदिमा पानी जम्न दिनु हुँदैन । गमलाहरुमा रहेका पानीलाई हप्ताको २ पटक परिवर्तन गर्नुपर्दछ । पानीका ट्याङ्कीलाई लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर राख्नुपर्दछ । दिउँसो पनि पूरा बाहुला भएका शरीर पूरै ढाक्ने कपडाहरु प्रयोग गर्नुपर्दछ । लामखुट्टेको टोकाइबाट बाच्न लामखुट्टे भगाउने मलम पनि दल्न सकिन्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलभित्र सुत्नुपर्दछ । उच्च जोखिममा रहेका साना बालबच्चा र दीर्घरोगीले त जुनसुकै बेला झुलको प्रयोग गर्नुपर्दछ । घरका झ्याल–ढोकामा जाली लगाउनुपर्दछ । घरवरिपरि सफा–सुग्घर राख्नु, पानी जम्ने खाल्टाखुल्टी पुर्नुपर्दछ । डेङ्गुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्दछ ।
डेङ्गु बढ्न सक्ने कारणहरु
हिजोआज बढेको अव्यवस्थित शहरीकरण र अव्यवस्थित औद्योगिकीकरण एक मुख्य कारण हो । नेपालमा शहरी इलाकामा पानीको अभाव हुनु तथा फोहोरमैला व्यवस्थापनमा देखिएका कमजोरीहरुले डेङ्गु संक्रमण बढाउादै लैजान सक्ने देखिन्छ । लामखुट्टेले झन्डै ३ किमि क्षेत्रसम्म ओहोरदोहोर गर्न सक्दछ । तसर्थ, डेङ्गु बढ्ने कारणमा मानिसको अत्याधिक भ्रमण र व्यापारको लागि टाढा जाने प्रवृत्ति पनि कारक तत्व नै हुन् । हिजोआज प्लाष्टिकका सामग्रीहरु, टायरको अधिक प्रयोग र प्रयोगपछि त्यसै छोड्ने प्रवृत्तिले गर्दा डेङ्गु संक्रमण बढाएको पाइन्छ । डेङ्गु प्रायश: पानी पर्ने अत्याधिक गर्मी महिनाहरुमा बढी मात्रामा देखिन्छ । हिजोआज बढेको खडेरी तथा ग्रिन हाउस इफेक्टका कारण पृथ्वीको बढ्दो तापक्रमले भविष्यमा डेङ्गु महामारी निम्तिने खतरा छ । सन् २०८५ सम्ममा यही क्रममा बढ्दो जनसंख्या र वातावरणीय तापक्रम वृद्धि हुादै गएमा संसारका करिब ५० प्रतिशत जनसंख्या डेङ्गु संक्रमणको उच्च जोखिममा रहने अनुमान छ ।
डेङ्गु रोकथाममा चालिएका कदमहरु
इन्टरनेशनल हेल्थ रेगुलेशन २००५ ले संसारभर डेङ्गु महामारी फैलिन सक्ने कारण जनाउदै अन्तर्राष्ट्रिय समुदायले विशेष ध्यान दिनुपर्ने भनेको छ ।
नेपालले पनि आफ्ना विभिन्न राष्ट्रिय योजना तथा नीतिहरुमा यसबारे उल्लेख त गरेको छ तर अझै पनि उचित कार्यान्वयन भने बाँकी देखिन्छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतको निकायले एडिज नियन्त्रणमा विशेष कार्यक्रम गर्ने, स्वास्थ्य चेतना जगाउने, खोजपड्ताल प्रणालीलाई बलियो बनाउने, परीक्षणको लागि सामग्री सहज पार्ने, स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने, महामारी फैलिए नियन्त्रणको लागि उच्च सतर्कता अपनाउने नीति लिए पनि अझै पूर्ण रुपमा सफलता हासिल गरिसकेको छैन ।
झापामा भर्खरै देखिएको महामारी अब नियन्त्रणतर्फ आउादै गएको छ । यो मौसम चिसिदै जानुको कारण र नियन्त्रणका उपायहरुका कारण सम्भव भएको हो । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रत्यक्ष संलग्नतामा जिल्ला जनस्वास्थ्य कार्यालय झापा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको बिरामीको सफल उपचारले एकसाथ रोग नियन्त्रणमा आएको हो । गाँउ- गाँउमा गएर लामखुट्टेका लार्भा नष्ट गर्ने कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, बिद्यालय स्वास्थ्य कार्यक्रमले यो सफल हुादै गएको हो ।
डेङ्गु र खोप विकास
डेङ्गु संक्रमण अलि डरलाग्दो हुनुमा यसविरुद्धका खोपहरु उपलब्ध नहुनु पनि हो तर पनि यसविरुद्ध विभिन्न खोपहरु बन्ने प्रक्रियामा सफलता हात लाग्दै छ । सम्भवत: सन् २०१४ सम्म खोप उपलब्ध हुने सरोकारवालाले जानकारी पनि दिएका छन् ।
सारांश
नेपालमा डेङ्गु संक्रमण दर बढ्दै गएको छ । बढ्दो तापक्रम, अव्यवस्थित शहर विकास तथा औद्योगिकीकरण, जथाभावी फालिएका टायर, प्लाष्टिक, पानीको अभाव कारक तत्वहरु हुन् । खोप, औषधि र जनचेतना नहुनु जस्ता कुरा महामारी फैलन सक्ने खतरा छ । नेपाल सरकारले यसको नियन्त्रणमा प्रत्यक्ष रुपमा विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ । श्रीलंकाको उदाहरण लिदा त्यहाँ प्रेसिडेन्सियल डेङ्गु टास्कफोर्सको स्थापना पश्चात् डेङ्गु संक्रमण ह्वात्तै घटेको अनुसन्धानबाट प्रमाणित भइसक्दा कतै यस्तै संयन्त्र नेपालमा आवश्यक नहोला भन्न सकिन्न । सधैं सरकारको मुख ताक्नेभन्दा पनि हामीले आफ्नो बानीव्यहोरामा परिवर्तन गरेर डेङ्गु नियन्त्रणका उपायहरु व्यक्ति, परिवार र समुदायले एकसाथ थालनी गर्नु सबैभन्दा उपयुक्त कदम हो । डेङ्गु महामारी भएमा के हामी साँच्चै तयार छौं ? सरकारी तथा सम्बन्धित निकायहरुले सोंच्नैपर्ने भएको छ । अन्त्यमा, डेङ्गु नियन्त्रणमा तपार्इं हामी सबै मिलेर एकसाथ अघि बढौं ।
No comments:
Post a Comment