Followers

12. WHAT IS DYSMENORRHOEA ? डिस्मेनोरिया थाह पाउन जरुरी छ ! BY DR. SURYA B. PARAJULI, NEPAL

पृष्ठभूमि
------------------------------------

बिभिन्न रेडियो तथा संचार माध्यमहरुमा जनस्वास्थ्यमूलक कार्यक्रम संचालन गर्ने क्रममा धेरै आउने समस्या हो डिस्मेनोरिया,डाक्टर साब ! मेरो एउटा प्रश्न छ । 
हुन त म आफूसँग सम्बन्धित प्रश्न होइन, आम दिदीबहिनीहरुको भोगाइ हो । 
महिनावारी हुँदा धेरै लाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाक्वाकी लाग्ने हुन्छ, दैनिक गरि राखने कामहरु पनि गर्न सक्दैनन् ।
यसले कतै बाझोपन ल्याउने त होइन ?  
रोकथाम गर्न सकिन्छ कि सकिदैन ? 
संसार भरमा करिब ४० देखि ९५ प्रतिशत महिलाहरुमा यो  समस्या देखिन्छ ।
२० बर्ष आस पासमा बढी नै समस्या आए पनि उमेर बढदै जादा यो क्रमस ठीक हुँदै जान्छ । 
आज यसै सम्वन्धमा कलम चलाउने जमर्को गरे ।

डिस्मेनोरिया के हो ?
---------------------------------
वास्तवमा महिनावारी हुँदा तल्लो पेट, ढाड, कम्मर दुख्नु र दुखाई बढ्दै गई कहिले काही  गोडाहरु सम्म पुग्नु, वाक्वाकी-बान्ता हुनु, खान मन नलाग्नु र दैनिक कार्य गर्न बाधा हुनुलाई डिस्मेनोरिया भनिन्छ ।  यो विवाहिता, अविवाहिता दुवै  लाई हुन सक्दछ ।  पहिलो पटक महिनामारी भएको समयमा दुखाइ नभए पनि पछि गएर पनि डिस्मेनोरिया हुन सक्दछ । कतिपय  अवस्थामा दुखाइ बढ्न गइ ८–१२ घण्टा सम्म पनि दुख्न सक्दछ र औषधीको सेवन गर्नु पर्ने हुन सक्दछ । यसको दुखाइ र उमेर समूहको प्रक्रिया हेरेर डिस्मेनोरियालाई दुई प्रकारले बुझ्न सकिन्छ ।

१.प्राइमरी डिस्मेनोरिया
-----------------------------------
यस प्रकारको डिस्मेनोरिया प्राय गरेर ११–२० वर्षको उमेर समूहमा अविवाहिता तथा वयस्क महिलाहरुमा हुने गर्दछ । पहिलो पटक महिनावारी भएदेखि ६ महिना भित्र यदि निम्न लिखित लक्षणहरु देखिएको छ भने त्यस उमेर समूहका महिलाहरुलाई प्राइमरी डिस्मेनोरिया भएको बुझिन्छ ।

लक्षणहरु
------------
महिनावारीको बेलामा तल्लो पेट दुख्नु, कम्मर दुख्नु, ढाड दुख्नु र दुखाई बढ्दै गई गोडाहरु पनि दुख्नु , टाउको दुख्नु, वाक्वाकी लाग्नु र बान्ता हुनु ,पखाला लाग्नु ।

कारणहरु
--------------------
कम उमेरमा महिनावारी सुरु हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनहरु असन्तुलित हुनु, महिनावारी हुँदा पाठेघर भित्र रहेको विकारहरु बाहिर फाल्नु पर्ने हुन्छ । यस समयमा पाठेघर खुम्चिने र तन्किने गरिराखेको हुन्छ ,यसै कारणले पनि तल्लो पेट दुख्ने हुन सक्दछ । महिनावारी हुनु भनेको यौनीवाट रगत बग्नु हो ,यस समयमा यौनाङ्गमा कुनै बाधा आयो भने पनि हुन सक्दछ। परिवारमा अन्य कोहीलाई त्यस्तो भएको छ भने पनि हुन सक्दछ,अत्याधिक मोटोपना र सुखमय जीवनशैली ।

२. सेकेन्डरी डिस्मेनोरिया
---------------------
सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहको महिलाहरुलाई हुने गर्दछ  । यो प्रायः विवाहिताहरुमा देखिने समस्या पनि हो । अविवाहितामा पनि देखिन सक्दछ ।

लक्षणहरु
-------------------
 महिनावारी भएको पहिलो केही वर्ष दुखेको अनुभव नहुनु र पछि दुख्नु, महिनामारी समयमा नहुनु र रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनाङ्ग दुखेको अनुभव हुनु वा दुख्नु, बाझोपन देखिनु , अत्याधिक यौनी श्राव हुनु अथवा धेर्रै सेतो पानी बग्नु ,औषधीको सेवन गर्दा पनि दुखाइ कम नहुनु ।

कारणहरु
---------------------
यसका कारणहरु धेरै हुन सक्दछन् ।विशेष गरेर महिला प्रजनन अङ्ग सम्बन्धि कुनै रोग छ भने जस्तै पाठेघरको स्थिति सामान्य भन्दा फरक हुनु, अण्डाशय तथा अण्डबाहिनी नलीहरुमा केही समस्या देखिनु, आदी । लामो समय सम्म आइ.यू.सी. डी तथा कपर– टी को प्रयोगले,अनियमित रुपमा औषधिको प्रयोग ।

रोकथाम तथा उपचार
-----------------------------------
महिनावारी एउटा सामान्य प्रक्रिया हो । सर्वप्रथम यसलाई बुझ्न आवश्यक छ । 
समाजमा प्रचलित कुरीतिहरुलाई रोकथाम गर्न तथा स्वास्थ्यमूलक कार्यक्रम संचालन गर्नु पहिलो प्राथमिकता हो । वयस्क तथा अविवाहिता (११–२०) उमेर समूहका महिलाहरुलाई प्रजनन स्वास्थ्य शिक्षा स्कूलदेखि नै  उपलब्ध गराउने, सफा मन तातो पानी,  झोलिलो पदार्थ र नियमित सन्तुलित भोजनको सेवनबाट प्राइमरी डिस्मेनोरिया रोकथाम गर्न सकिन्छ ।

महिनावारी हुँदा सफा नरम कपडा प्रयोग गर्ने  र यौनाङ्ग सफा राख्ने सरसफाइमा विशेष ध्यान दिनु पर्दछ । आराम गर्ने तथा दुखाई कम महशुस गर्न नियमित क्रियाकलापहरु गर्ने,दिनहँ दिसा गर्ने बानी बसाल्ने र कब्जियत हुन नदिने । 
औषधिको सेवन गर्नु परेमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि लिने । 
माथि उल्लेखित उपायहरुबाट दुखाइ कम भएन अथवा अत्याधिक रक्त श्राव समयमा महिनावारी हुँदैन, यौनाङ्गमा कुनै समस्या छ र यौन सम्पर्क गर्दा दुखाई बढ्छ । 
प्रजनन अङ्गमा कुनै समस्या भएको महशुस भएको छ भने र औषधिको सेवन गर्दा पनि दुखाई कम भएन भने तुरुन्त स्वास्थ चौकीमा गई सम्पर्क गर्ने अथवा स्त्री रोग विशेषज्ञ डाक्टरको सल्लाह लिने गर्नु पर्दछ ।

स्मरण रहोस्– डिस्मेनोरिया आँफैमा रोग होइन ,रोगहरुको लक्षण हुनसक्छ । समस्या पहिचान गरी समाधान गर्न परिवारको सहयोग आवश्य हुन्छ ।


No comments:

Post a Comment