Followers

13.तालु खुइलिनु (Alopecia- Hair Loss)


© डा सुर्य पराजुली

पृष्ठभूमि
बिभिन्न समयमा बिभिन्न पत्र-पत्रीकाहरुमा छापिएका तालु खुईलिने र यसको उपचार भन्दै फोटासहित प्रकाशित भएका बिज्ञापनहरु हामिले प्रशस्तै देखेक छौ। पहिले तालु पुरै या आशिक खुईलेको फोटो र अहिले पुरै कपाल भएको फोटो राखि तुलना गरिएका आकर्षक बिज्ञापनहरु भेटिन्छन् । यस्ता धेरै बिज्ञापन दाताहरुको परिचय समेत स्पष्ट नहुनु नौलो हैन। यस्ता बिज्ञापनमा कति सत्यता छन अनि कति ठगि ? राम शर्मा २२ बर्षमै यस्तो समस्याको शिकार भैसकेका छन । आज हामी यसै बिषयमा केही छलफल गर्दैछौ ।
कपाल रौं परिचय
मुख्यरुपमा रौ लाई ३ प्रकारमा बिभाजन गर्न सकिन्छ । १. लानुगो रौं– बच्चा पाठेघरमा हुँदा हुने पातला तथा नरम
रौंहरु हुन्, जुन पाठेघरमै खस्दछन ।  २. भेलस  रौं–शरीरको प्रायस सबै भागमा हुने नरम तथा छोटा रौंहरु हुन । ३. टर्मिनल  रौं–मुख्यरुपमा टाउको, काखी तथा जनेन्द्रीय बरिपरि हुने कडा लामा रौंहरु हुन ।
रौं बढ्ने चक्र
हाम्रो टाउकोमा करिब एक लाख जति रौंहरु हुन्छन् र एक सय जति दैनिक झर्दछन् । एउटा रौंको आयु करिब एक हजार दिन हुन्छ, त्यसपछि यो खस्न थाल्दछ । यो सामान्य प्रक्रिया हो । यो भन्दा बढी रौं झुर्न समस्या हो ।
तालु खुइलिनु प्रकारहरु
१)      सिकाट्राइसियल - जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी, चोटपटक, क्यान्सर
२) नन–सिकाट्राइसियल -
  A) सानो भाग-एलोपेसिया एरेटा(खोइरे रोग), अनुवांशिक (एन्ड्रोजेनिक), ट्राइकोटिलोम्यानिया     (मानसिक रोग), ढुसी संक्रमण (टिनिया) 
B)पुरा भाग – एलोपेसिया युनिभरसालिस
नोटः १) सिकाट्राइसियलमा रौंका जराहरु नष्ट हुन्छन् ,जसको कारण कपाल पलाउन सक्दैन , तालु चिल्लो देखिन्छ ।२) नन सिकाट्राइसियलमा रौंका जराहरु हुनाले पुनः पलाउन सक्छ ।
कारण तथा उपचार 
१) एलोपेसिया एरेटा थाइरोइडका रोगहरु, दुवी तथा मानसिक तनावको कारणसँग सम्बन्धित छन् । विस्तारै खाली भएको ठाउँमा कपाल उम्रन थाल्दछ । स्टेरोइड, सोरालिन आदि उपचारमा प्रयोग गरिन्छ । नक्कली कपाल भएको टोपी विग यदि पुरै कपाल झरेमा प्रभावकारी देखिन्छ ।
२) एन्ड्रोजिेनिक एलोपेसीया जसलाई पुरुष प्रकारको खुइले भनिन्छ जुन वंशानुगतरुपमा आएको पाइन्छ । तथापि यो बुझ्न पर्छ कि पुरुष हर्मोन बढी हुनेमा यो देखिएको छ । पुरुषमा कुनै परीक्षण आवश्यक नभए पनि महिलामा  भने पुरुष हर्मोन निकाल्ने ट्युमर छ कि छैन भनी परीक्षण गर्नुपर्दछ । पुरुषको हकमा, मिनोजिडिल (२–५ प्रतिशत) नामक औषधिको प्रयोगले कपाल झर्ने प्रक्रिया ढिलो गराउने तथा नयाँ कपाल पलाएको पनि पाइएको छ तर यो दीर्घकालीन भने देखिएको छैन किनकि औषधि बन्द गर्ने वितिकै फेरि कपाल झर्न थाल्छ त्यसैले प्रयोगकर्ताले जीवनभर प्रयोग गर्नुपर्ने देखिन्छ । फिनासटराइड नामक औषधिको पनि प्रयोग देखिन्छ । विग लगाउनु तथा सर्जरी अरु विकल्प हुनसक्छन् ।
३) टेलोजेन इफ्लुभीयम नामक तालु खुईले समस्या मुख्यतम संक्रमण (टाइफाइट, औलों, डेन्गु) तालुका अपरेशन, चोटपटक, परीक्षाको तनाव, तनावयुक्त बैवाहिक सम्बन्ध, प्रशव पीडा आदिमा देखिएका छन् । समस्याको निराकरण पहिलो उपचार हो । २-३ महिनापछि कपाल झर्न बन्द हुन्छ तर पनि पहिलेकै अवस्थामा आउँदैन् ।
४) ट्याक्सन एलोपेसिया नामक कपाल झर्ने समस्या आजभोलि ह्वातै बढेको पाइएको छ । कपाल सिधा पार्न गरिने प्रविधि हट कम्बिङ यसको मुख्य दोषी हो । कपाल कोर्ने स्टाइल परिवर्तन नै उपचार हो ।
५) ट्राइकोटिलोम्यानिया नामक कपाल झर्ने समस्या युवा अवस्थाका केटीहरुमा पाइएको छ । दुखाई कम गर्न कपाल उखाल्ने यो एक मानसिक समस्या हो । विरामीलाई मानसिक सहयोग आवश्यक देखिन्छ ।
६) छालाका संक्रमण जस्तो रौंका जराहरुको संक्रमण, ढुसीको संक्रमण, सोरियासिस तथा कुष्ठरोगमा पनि यो देखिएको छ । कारणहरुको उपचार पश्चात स्वत कपाल पलाएको पाइन्छ ।
७) कुनै औषधि जस्तो केमोथेरापी, विष सेवन पश्चात पनि यो समस्या देखिन्छ । कारणहरुको उपचार पश्चात स्वत कपाल पलाएको पाइन्छ ।
८) बच्चाहरुमा कुपोषणको कारण पनि कपाल झरेको पाइएको छ ।
सझुाव-सल्लाह
१) कपाल झर्ने समस्या कुन प्रकारको हो सर्वप्रथम बुझ्नको लागि चिकित्सककोमा जानुहोस् ।
२) चिकित्सकको सल्लाह बमोजिम औषधि उपचार तर्फ लाग्नुहोस्
३) तपाईको निराशा उपचारपछि आशामा परिणत नहोला भन्न पनि सकिन्न ।
४) तपाईको सुन्दरताको लागि तपाई हामी सबै मिलेर लाग्ने बेला भएन र !
शुभकामना


12. WHAT IS DYSMENORRHOEA ? डिस्मेनोरिया थाह पाउन जरुरी छ ! BY DR. SURYA B. PARAJULI, NEPAL

पृष्ठभूमि
------------------------------------

बिभिन्न रेडियो तथा संचार माध्यमहरुमा जनस्वास्थ्यमूलक कार्यक्रम संचालन गर्ने क्रममा धेरै आउने समस्या हो डिस्मेनोरिया,डाक्टर साब ! मेरो एउटा प्रश्न छ । 
हुन त म आफूसँग सम्बन्धित प्रश्न होइन, आम दिदीबहिनीहरुको भोगाइ हो । 
महिनावारी हुँदा धेरै लाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाक्वाकी लाग्ने हुन्छ, दैनिक गरि राखने कामहरु पनि गर्न सक्दैनन् ।
यसले कतै बाझोपन ल्याउने त होइन ?  
रोकथाम गर्न सकिन्छ कि सकिदैन ? 
संसार भरमा करिब ४० देखि ९५ प्रतिशत महिलाहरुमा यो  समस्या देखिन्छ ।
२० बर्ष आस पासमा बढी नै समस्या आए पनि उमेर बढदै जादा यो क्रमस ठीक हुँदै जान्छ । 
आज यसै सम्वन्धमा कलम चलाउने जमर्को गरे ।

डिस्मेनोरिया के हो ?
---------------------------------
वास्तवमा महिनावारी हुँदा तल्लो पेट, ढाड, कम्मर दुख्नु र दुखाई बढ्दै गई कहिले काही  गोडाहरु सम्म पुग्नु, वाक्वाकी-बान्ता हुनु, खान मन नलाग्नु र दैनिक कार्य गर्न बाधा हुनुलाई डिस्मेनोरिया भनिन्छ ।  यो विवाहिता, अविवाहिता दुवै  लाई हुन सक्दछ ।  पहिलो पटक महिनामारी भएको समयमा दुखाइ नभए पनि पछि गएर पनि डिस्मेनोरिया हुन सक्दछ । कतिपय  अवस्थामा दुखाइ बढ्न गइ ८–१२ घण्टा सम्म पनि दुख्न सक्दछ र औषधीको सेवन गर्नु पर्ने हुन सक्दछ । यसको दुखाइ र उमेर समूहको प्रक्रिया हेरेर डिस्मेनोरियालाई दुई प्रकारले बुझ्न सकिन्छ ।

१.प्राइमरी डिस्मेनोरिया
-----------------------------------
यस प्रकारको डिस्मेनोरिया प्राय गरेर ११–२० वर्षको उमेर समूहमा अविवाहिता तथा वयस्क महिलाहरुमा हुने गर्दछ । पहिलो पटक महिनावारी भएदेखि ६ महिना भित्र यदि निम्न लिखित लक्षणहरु देखिएको छ भने त्यस उमेर समूहका महिलाहरुलाई प्राइमरी डिस्मेनोरिया भएको बुझिन्छ ।

लक्षणहरु
------------
महिनावारीको बेलामा तल्लो पेट दुख्नु, कम्मर दुख्नु, ढाड दुख्नु र दुखाई बढ्दै गई गोडाहरु पनि दुख्नु , टाउको दुख्नु, वाक्वाकी लाग्नु र बान्ता हुनु ,पखाला लाग्नु ।

कारणहरु
--------------------
कम उमेरमा महिनावारी सुरु हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनहरु असन्तुलित हुनु, महिनावारी हुँदा पाठेघर भित्र रहेको विकारहरु बाहिर फाल्नु पर्ने हुन्छ । यस समयमा पाठेघर खुम्चिने र तन्किने गरिराखेको हुन्छ ,यसै कारणले पनि तल्लो पेट दुख्ने हुन सक्दछ । महिनावारी हुनु भनेको यौनीवाट रगत बग्नु हो ,यस समयमा यौनाङ्गमा कुनै बाधा आयो भने पनि हुन सक्दछ। परिवारमा अन्य कोहीलाई त्यस्तो भएको छ भने पनि हुन सक्दछ,अत्याधिक मोटोपना र सुखमय जीवनशैली ।

२. सेकेन्डरी डिस्मेनोरिया
---------------------
सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहको महिलाहरुलाई हुने गर्दछ  । यो प्रायः विवाहिताहरुमा देखिने समस्या पनि हो । अविवाहितामा पनि देखिन सक्दछ ।

लक्षणहरु
-------------------
 महिनावारी भएको पहिलो केही वर्ष दुखेको अनुभव नहुनु र पछि दुख्नु, महिनामारी समयमा नहुनु र रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनाङ्ग दुखेको अनुभव हुनु वा दुख्नु, बाझोपन देखिनु , अत्याधिक यौनी श्राव हुनु अथवा धेर्रै सेतो पानी बग्नु ,औषधीको सेवन गर्दा पनि दुखाइ कम नहुनु ।

कारणहरु
---------------------
यसका कारणहरु धेरै हुन सक्दछन् ।विशेष गरेर महिला प्रजनन अङ्ग सम्बन्धि कुनै रोग छ भने जस्तै पाठेघरको स्थिति सामान्य भन्दा फरक हुनु, अण्डाशय तथा अण्डबाहिनी नलीहरुमा केही समस्या देखिनु, आदी । लामो समय सम्म आइ.यू.सी. डी तथा कपर– टी को प्रयोगले,अनियमित रुपमा औषधिको प्रयोग ।

रोकथाम तथा उपचार
-----------------------------------
महिनावारी एउटा सामान्य प्रक्रिया हो । सर्वप्रथम यसलाई बुझ्न आवश्यक छ । 
समाजमा प्रचलित कुरीतिहरुलाई रोकथाम गर्न तथा स्वास्थ्यमूलक कार्यक्रम संचालन गर्नु पहिलो प्राथमिकता हो । वयस्क तथा अविवाहिता (११–२०) उमेर समूहका महिलाहरुलाई प्रजनन स्वास्थ्य शिक्षा स्कूलदेखि नै  उपलब्ध गराउने, सफा मन तातो पानी,  झोलिलो पदार्थ र नियमित सन्तुलित भोजनको सेवनबाट प्राइमरी डिस्मेनोरिया रोकथाम गर्न सकिन्छ ।

महिनावारी हुँदा सफा नरम कपडा प्रयोग गर्ने  र यौनाङ्ग सफा राख्ने सरसफाइमा विशेष ध्यान दिनु पर्दछ । आराम गर्ने तथा दुखाई कम महशुस गर्न नियमित क्रियाकलापहरु गर्ने,दिनहँ दिसा गर्ने बानी बसाल्ने र कब्जियत हुन नदिने । 
औषधिको सेवन गर्नु परेमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि लिने । 
माथि उल्लेखित उपायहरुबाट दुखाइ कम भएन अथवा अत्याधिक रक्त श्राव समयमा महिनावारी हुँदैन, यौनाङ्गमा कुनै समस्या छ र यौन सम्पर्क गर्दा दुखाई बढ्छ । 
प्रजनन अङ्गमा कुनै समस्या भएको महशुस भएको छ भने र औषधिको सेवन गर्दा पनि दुखाई कम भएन भने तुरुन्त स्वास्थ चौकीमा गई सम्पर्क गर्ने अथवा स्त्री रोग विशेषज्ञ डाक्टरको सल्लाह लिने गर्नु पर्दछ ।

स्मरण रहोस्– डिस्मेनोरिया आँफैमा रोग होइन ,रोगहरुको लक्षण हुनसक्छ । समस्या पहिचान गरी समाधान गर्न परिवारको सहयोग आवश्य हुन्छ ।


11.झाडापखाला ( Diarrhoea)

© डा.सूर्य पराजुली

पृष्ठभूमि
संसारभरमा ५ बर्ष मुनिका बालबालिका हरुमा मृत्युको दोश्रो मुख्य कारण झाडापखाला हो । संसारभर करिब २५ करोड प्रती बर्ष यसको शिकार हुने गरेकोमा १५ लाखको मृत्यु हुने गर्दछ । झन्डै प्रत्यक ५ जनामा १ जनको मृत्यु भैइरहेको तथ्याङ्क छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा स्वास्थ्य सेवा बिभाग को २०६७-६८ को वार्षिक प्रतिबेदन अनुसार ५ बर्ष मुनिका बालबालिका हरुमा झाडापखाला सन्क्रमण  ५०० प्रती १००० प्रती बर्ष रहेको छ,जुन गत बर्ष भन्दा ९८ ले कमि हो । यसै गरी जिन्क र जीवनजल दुबै प्रयोग गर्नेको संख्या पनि ४८ बाट ८८ प्रतिशत पुग्नु आँफैमा राम्रो देखिन्छ । नेपालमा अझै पनि करिब ३० प्रतिशत नागरिक खुला ठाउँमा दिशा गर्नु हाम्रो बिडमबना हो । जन्मेको पहिलो दुई बर्ष झाडापखालाको सन्क्रमन बढी भई बिस्तारै घटदै जान्छ । संसार भर ८८ प्रतिशत झाडपखालाको को मुख्य कारण असुरक्षित पानिको प्रयोग,अनुपयुक्त सरसफाई देखिन्छ । हामी असोज २८ गते विश्वहात धुने दिवस मनाउछौ । प्रत्येक वर्ष आउने यी दिवसहरुका दिन भव्य भाषण गरिन्छ, योजना वनाइन्छ तर कार्यान्वयन पाटो एकदमै फितलो रहन्छ । हाम्रो जस्तो देशमा त झन् हात नधोइएका कारणबाट श्रृजित विभिन्न रोगहरुका कारण धेरै मानिसहरुको अकालमा मृत्यु भइरहेको छ । हामी अझै पनि जनस्वास्थ्यका यी विविध पक्षहरुलाई सुदृढ वनाउन तर्फ अग्रसर हुन नसक्नु हाम्रो लागि विडम्बना हो । आज हामी यसै सन्दर्भमा झाडापखाला सम्वन्धमा प्रकाश पार्दैछौ ।
परिचय
२४ घण्टा अर्थात १ दिनमा ३ पटक वा सो भन्दा बढी पानी जस्तो पातलो दिसा भएको अवस्थालाई सामान्यतया झाडापखाला भनेर बुझ्नुपर्दछ । पखाला लाग्दा निम्न तीन अवस्थाहरु देखिन्छन् । पानी जस्तो पातलो दिसा, धेरै पटक दिसा हुनु, धेरैमात्रामा दिसा हुनु हुन् । साधारणतया बच्चा वा केही ठूला मानिसहरुले पनि ३-४ पटक दिसा गरेको पाइन्छ तर माथिको तीन अवस्था नभएमा यसलाई झाडापखाला भनिदैन । यदि अधिकांश जनतालाई यस सम्बन्धमा ज्ञान हुने हो  भने थोरै खर्चमा मृत्युलाई रोक्न पनि सकिन्थ्यो । अझै पनि हामी नेपालीको मृत्यु झाडापखालाकै कारण भएको छ भन्नुपर्दा हाम्रो जनस्वास्थ कति कमजोर छ प्रमाणित हुन्छ ।
प्रकारहरु
साधारणतया हामी झाडा पखालालाई दुई भागमा विभाजन गर्न सक्दछौ । आकस्मिक झाडापखाला र दीर्घझाडापखाला,आकस्मिक झाडापखाला केही घण्टादेखि २-३ दिनसम्म हुन्छ भने दीर्घ झाडापखाला २ हप्ता वा सो भन्दा बढी समयसम्मको हुन्छ ।
कारणहरु
झाडापखाला लाग्नुका धेरै कारणहरु हुन्छन् । मुख्य तीन कारणहरुमा जीवाणु, विषाणु, परजीविहरु पर्दछन् ।दुषित पानी, दुषित खाना, लुगाफाटा बाट रोग सर्ने गरेको पाइन्छ । झाडा पखाला हुँदा जलवियोजनका कारण शरीरबाट प्रशस्त पानी, नुन तथा पोषण तत्वहरु खेर जान्छन् जसलाई समयमै पुर्ति गर्न नसक्दा मानिसको मृत्यु हुन्छ ।
जल बियोजन
जलबियोजनका बारेमा हामीले अघि नै केही थाहा पाइ सकेका छौ । अब हामी यसका प्रकारका सन्दर्भमा केही प्रष्ट पार्ने जमर्को गर्दैछौ । क) जलबियोजन नभएको, ख) केही जलबियोजन भएको , ग) कडा जलबियोजन भएको ।
कडा जलबियोजनको अवस्थामा आलस्य, बेहोसीपन हुन्छ भने आँखाहरु गाडिएका र सुख्खा रहन्छन् भने आँसु हुदैन । मुख र जिब्रो एकदमै सुख्खा हुन्छ, तरल पदार्थ पानी पिउन सकिदैन । पेटको छालालाई तानेर छोड्दा निकै विस्तारै मात्र फर्कन्छ । पिसाब हुन छोड्ने अवस्था गम्भीर अवस्थामा पर्दछ ।
उपचार
बिश्वा स्वास्थ्य सँगठन र युनिसेफले ७ मुख्य बुंदामा  झाडापखाला निवारणमा कुरा गरेको छ ।पहिलो त जीवनजल प्रसस्त मात्रमा प्रयोग गर्नु पर्‍यो, दोश्रो जिन्क ट्याबलेटको उचित प्रयोग, तेस्रो रोटा भाईरस र दादुरा को खोप्, चौथो पुर्णरुपमा स्तनपान र भिटमिन ए को प्रयोग्,पाच साबुन पानिले सफा सँग हात धुने, छैठौ सफा तथा शुध्य पानीको प्रयोग,सातौ सामुदायिक सरसफाई कार्यकम ।
 रोगको अर्थात जलवियोजनको अवस्था अनुसार उपचार प्रकृया सुरु गरिन्छ । जलबियोजन नभएको र केही जलबियोजन भएको अवस्थामा जीवनजल तथा घरेलु उपचार गरिन्छ भने कडा जल बियोजन भएको अवस्थामा नसाबाट शरीरमा आवश्यक तरल पदार्थ औषधि पठाई उपचार गर्ने गरिन्छ ।
घरेलु उपचार प्रक्रिया
विरामीलाई झोल पदार्थ प्रशस्त मात्रामा खुवाउने जस्तै भातको माड, गेडागुडी र तरकारीको रसहरु । विरामीलाई सजिलै पच्न सक्ने खानाहरु जस्तो जाउलो, लिटो, ताजा फलफूलको रस खान सहयोग गर्ने ।केही जलबियोजन भएको अवस्था वच्चालाई आमाको दुध खुवाउन जोड गर्ने र जीवनजलको सही प्रयोग गर्ने, यति गर्दा गर्दै पनि झाडापखाला ठीक नभएमा तृरुन्त स्वास्थ्य संस्थामा लानै पर्दछ ।
रोकथाम
बच्चा जन्मेको छ महिनासम्म आमाको दुध मात्र खुवाउने ।
खान खानु वा खुवाउने अघि सावुनपानीले  हात राम्ररी धुने गर्नुपर्दछ ।
बच्चा ९ महिना पूरा भएपछि दादुराको खोप दिनुपर्छ ।
सरसफाईमा परिवारका सवै सदस्यहरुले ध्यान दिने, शौचालयको नियमित प्रयोग गर्ने वानी बसाल्नु पर्दछ ।
हामी कहाँ वच्चालाई जहाँ पायो त्यही दिसा पिसाब गराउने वानी छ र वच्चाको दिसाले रोग सार्दैन भन्ने एउटा नकारात्मक सोच पनि हाम्रो समाजमा रहेको पाइन्छ । यो सोचलाई आजैबाट त्याग्नु उपयुक्त देखिन्छ ।
प्रतिजैबिक औषधिको प्रयोग
साधारण प्रकारका झाडापखालामा प्रतिजैबिक औषधिको प्रयोग आवश्यक छैन बरु यसले त झन् नराम्रो असर गर्न सक्दछ । दिसामा आँउ रगत देखिएमा र हैजा भएमा प्रतिजैबिक औषधिको प्रयोग गरिन्छ ।
जीवनजल वनाउने तरिका
एक लिटर सफा पानीमा पुरै एक पुरिया जीवनजलको धुलो राखी राम्ररी घोल्ने, यसरी जीवनजल तयार हुन्छ । पुनश्च जीवनजल बनाउने भाँडो पनि सफा हुनुपर्दछ भने जीवनजल वनाउने व्यक्तिले हात सावुन पानीले सफासँग धोएको हुनु पर्दछ । एक पटक वनाएको जीवनजल २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ ।
सारांश
झाडापखालाबाट अकालमा मानिसको मृत्यु रोक्न आजैबाट तपाई हामी सवै मिलेर अघि बढ्ने हो भने यसको सार्थकता हुनेछ । कछुवाको गतिमा हिड्ने हाम्रो स्वास्थ्य मन्त्रालयलाई चेतना भया ।।