दशैं र तपाईंको स्वास्थ्य दायित्व
© डा सूर्य पराजुली
हाम्रो देश चाडपर्व, कला–सँस्कृतिको हिसाबले समृद्ध राष्ट्र हो । यहाँ वर्षैभरि कुनै न कुनै चाडपर्व मनाइरहेकै पाइन्छ । विभिन्न जातजाति तथा उनीहरुका मूल्य–मान्यताहरुका अनुसार विभिन्न चाडपर्व मनाएको पाइन्छ । दशैं–तिहार नेपालमा मानिने ठूला चाडपर्व हुन्।अधिकांश नेपालीले दशैं मनाएको पाइन्छ । टीका लगाएर, पिङ खेलेर होस् वा विभिन्न परिकार खाएर होस्, दशैंलाई निरन्तरता दिइएको हामी सबैले देखेका छौं । आज हामी मुख्यतया दशैंका विविध पक्षलाई स्वास्थ्यसँग जोडेर तुलना गर्दै केही समाधानका उपायहरु पस्कने जमर्को गर्छौं ।
विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘स्वस्थ्य हुनु भनेको कुनै पनि रोग वा केही खराबीहरुबाट मात्र मुक्त हुनु होइन तथापि एउटा यस्तो आदर्श अवस्था हो जसमा व्यक्ति मानसिक, शारीरिक र सामाजिकरुपमा पूर्ण स्वस्थ्य हुनु हो ।’ हाम्रो लक्ष्य जहिले पनि यस परिभाषाको पूर्णता प्राप्तिका लागि प्रतिबद्ध हुनुपर्छ । तसर्थ विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्यको परिभाषामा रहेर दशैंका विविध पक्षलाई केलाउने प्रयास गरौं ।
दशैंले स्वास्थ्यका विविध पक्षहरु जस्तोः शारीरिक, मानसिक र सामाजिकरुपमा असर पार्छ ।
शारीरिक पक्षको कुरा गर्दा मुख्यरुपमा स्वास्थ्यसम्बन्धी तत्कालीन र दीर्घकालीन असर पर्छन् । दशैंमा हामीले खाने खाना, व्यायाम, धूमपान र मद्यपानका धेरै नै असरहरु छन् । दशैंमा माछा–मासु प्रशस्त मात्रामा र धेरैपटक खाने चलन छ । यसका साथै अत्याधिक धूमपान र मद्यपान गर्ने सँस्कृतिको विकास हुँदै गएको पाइन्छ । तास–जुवा खेलेर दिनरात बस्दा शारीरिक कसरत हुनै पाउँदैन । कब्जियत, झाडाबान्ता, अम्लपित्त, वायुविकार, फुड प्वाइजनिङ तत्काल देखिने असरहरु हुन् । हिजोआज ग्लोबल वार्मिङका कारण हाम्रो वातावरण धेरै नै तातो छ भने हामी नेपालीको दुर्भाग्य भनौं, विद्युत्को नियमितता छैन । तसर्थ, मासुलाई लामो समय सुरक्षितरुपमा फ्रिज गरेर पनि राख्न सकिएको छैन ।
अभैm पनि हाम्रो देशमा उपयुक्त पशु बधशाला छैन भने यससम्बन्धी कानूनहरु पनि एकदमै फितलो छन् । हाम्रोमा पशु निरोगिताको प्रमाणपत्र दिने–लिने प्रचलन पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । यस्ता विविध समस्याले गर्दा फुड प्वाइजनिङ हुने, टाइफाइड, ब्रुसेलोटिस, लेप्टोस्पाइरोसिस, झाडापखालाजस्ता समस्याहरु तत्काल आउनसक्ने उच्च सम्भावनालाई नकार्न मिल्दैन ।
त्यस्तै गरेर दीर्घकालीन समस्याहरु पनि दशैंजस्ता चाडपर्वले निम्त्याउन सक्छन् । मुख्यतया दीर्घ रोगीहरु जस्तोः मधुमेह, उच्च रक्तचाप, मुटुका रोगहरु स्ट्रोक, मृगौलाका रोगहरु, पेटका रोगहरु, अर्बुद रोगहरुले खानपानमा विशेष ध्यान दिनुपर्छ । अत्यधिक मासुको सेवन, मद्यपान र धूमपानले दीर्घकालमा कलेजो, पेट र मुटुका रोगहरुको सम्भावना बढाउँछ ।
खानपानबाट हुने तत्कालीन समस्या समाधान गर्नु आवश्यक हुन्छ । माछा–मासुको छनोट गर्दा स्वस्थ्य खसी–बोका, राँगा, सुँगुर, कुखुरा, हाँसको छनोट गर्नुपर्छ । झोंक्राएको, धेरै ¥याल काढ्ने, खोक्ने खसी–बोकाको मासु खानु हुँदैन । आधिकारिक निकायले प्रमाणित गरी स्वस्थ्य भनेका खसी–बोका किन्नुपर्छ । अनुभवी मानिसले स्वस्थ्य र अस्वस्थ्य खसी–बोका छुट्याउन सक्छन् । उनीहरुको सहयोग लिनुपर्छ ।
अब यसपछि कुरा गरौं, बधशालाको । हाम्रोमा बधशालाको खासै राम्रो व्यवस्था छैन । मासु किन्दा कम्तीमा सफा–सुग्घर स्थानबाट किन्नुपर्छ । झिङ्गा भन्केको, सँडेगलेको, धुलो लागेको, गन्हाउने माछा–मासु खानु हुँदैन । काट्ने मान्छे पनि कत्तिको सफा–सुग्घर छ, मूल्याङ्कन गर्नुपर्छ । घरमा खसी काट्दा र बनाउँदा सफा र सुरक्षित स्थानमा गर्नुपर्छ । पुरानो प्लाष्टिक ओछ्याउने, गोठमा बनाउने कार्य गर्नु हुँदैन । मासु काट्न प्रयोग गरिने हातहतियार, अचानो र भाँडाकुँडा सफा र सुरक्षित हुनुपर्छ । मासुलाई धेरै दिनसम्म प्रयोग गर्नु हुँदैन । यसलाई सुरक्षित तरिकाले भण्डारण गर्नुपर्छ । विभिन्न तरिकाले मासुलाई भण्डारण गरेको पाइन्छ । तथापि फ्रिजमा राख्नु र ताजा मासु खानु नै उत्तम हुन्छ ।
गाउँघरमा प्रत्येक घरमा महाअष्टमीको दिन खसी काट्ने चलन छ, जुन मासु पूर्णिमा र अभैm पछिसम्म पनि प्रयोग गरिन्छ । यो ठीक प्रचलन होइन । तथापि सकिन्छ भने प्रत्येक दिन फरक–फरक घरमा खसी–बोका काटेर त्यसलाई छरछिमेकमा मिलेर खाने गर्नाले सबैले स्वस्थ्य मासु प्राप्त गर्छन् । अत्यधिक मात्रामा र छिटो–छिटो मासु खानाले कब्जियत गराउँछ । यसले वायुविकार, अम्लपित्त पनि बढाउँछ । तसर्थ धेरै चिल्लो, पिरो, मसालेदार मासुका परिकारहरु सकेसम्म नखानु वा थोरै खानुपर्छ । पानी प्रशस्त खानुपर्छ । खाना खाँदा थोरै–थोरै गरेर खानुपर्छ । सागसब्जी, फलपूmलजस्ता रेसायुक्त खानाको सेवन गर्नुपर्छ । यसले कब्जियत हुनबाट बँचाउँछ । धूमपान–मद्यपान गर्नु हुँदैन । दशैंका नाममा धूमपान–मद्यपानले धेरै नै समस्याहरु निम्त्याउन सक्छन् । यसले वायुविकार अम्लपित्तलाई बढावा दिन्छ । कतिलाई दीर्घकालसम्म यसको लत बस्छ । अझ गर्भवती महिला, बच्चा र दीर्घरोगी भएका घरमा त यसको नकारात्मक असर धेरै पर्छन् । अझ अत्यधिक मद्यपान गरिन्छ । सवारी हाँक्ने गर्नाले सडक दुर्घटना बढाउँछ । दशैंमा मद्यपानका कारण हुने सडक दुर्घटना बढी नै हुन्छन् । तास, जुवाजस्ता खेलबाट झगडा र हिंसाका घटना हुने गरेका पाइन्छन् । तसर्थ, यसमा पनि सचेत रहनैपर्छ ।अर्को कुरा, शारीरिक कसरतहरु पनि अलिकति गर्नुपर्छ ।
माछा–मासुका परिकार सेवन गर्दा कसैलाई अत्यधिक झाडावान्ता भएमा, पेट दुखेमा यो फुड प्वाइजनिङ पनि हुनसक्छ । तसर्थ, स्वास्थ्यकर्मीको प्रत्यक्ष सल्लाह र उपचारमा जानुपर्छ । दीर्घरोगीहरु (जस्तोः मधुमेह) ले खानपानमा विशेष ध्यान दिनुपर्छ । आपूmले प्रयोग गरेका औषधिको मात्रा र समयलाई ध्यान दिनुपर्छ । चुरोट, जाँडरक्सी पूर्णरुपमा बार्नुपर्छ । धेरै चिल्लो–पिरो र मसालेदार खाना खानु हुँदैन । शारीरिक कसरत र सकारात्मक सोंचलाई निरन्तरता दिनुपर्छ । सागपात र पानी प्रशस्त मात्रामा लिनुपर्छ । थोरै चिल्लोमा पकाएका वा उसिनेका मासुका परिकार खानुपर्छ । उच्च रक्तचाप तथा मुटु, मृगौला र पेटका रोगीहरुले पनि खानपानमा विशेष ध्यान दिनुपर्छ । अति चिल्लो–पिरो र मसालेदार खानाको सेवन गर्नु हुँदैन । अहिलेसम्म हामीले शारीरिक स्वास्थ्यका विविध पक्षमा छलफल ग¥यौं । अब हामी मानसिक र सामाजिक स्वास्थ्यका बारेमा केही छलफल गरौं ।
शारीरिकरुपमा मात्र नभई मानसिकरुपमा पनि स्वस्थ्य हुनुपर्छ । दशैं–तिहारजस्ता चाडपर्वमा आफन्तजन र साथीसँग भेटघाट हुन्छ । परिवारमा माया, ममता, स्नेह र हार्दिकता पनि बढ्छ । यसले परिवार र समाजको विकासमा अग्रणी भूमिका निर्वाह गर्छ । दशैंमा मानिसले रिसराग र घमण्डलाई त्याग्ने गर्छन् । जसले मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्छ । धेरै खर्च गर्ने र चाडपर्व भड्किलो रुपमा मनाउने गर्दा आर्थिक क्षति अत्यधिक हुन्छ । यसको कारणबाट मानसिक तनाव, हिंसा, चोरी, लुटपाट हुने गर्छन् । त्यसैले भनिएको पनि छ, ‘घाँटी हेरी हाड निल्नू’ अर्थात् आप्mनो गच्छे र क्षमताअनुसार खर्च गर्दा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्दैन । सामाजिक मेलमिलाप, छलफल, सामुदायिक कार्यहरु सामाजिक स्वास्थ्यका पाटाहरु हुन् । दशैंजस्ता चाडपर्वमा सबैको भेटघाट हुनाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्छन् । यस्तै भेटघाटले कतिपय ठाउँमा विकास निर्माणका काम पनि भएको हामीले देखेका छौं । क्षमताभन्दा बढी दक्षिणा दिने गर्नाले समाजमा नकारात्मक प्रभाव पर्छ । चाडपर्व धनीका महलहरुमा मात्र होइन, गरीबका झुपडीहरुमा पनि आउनुपर्छ । अत्यधिक मद्यपान, धूमपान, झगडा, हिंसा आदिले सामाजिक स्वास्थ्यमा नकारात्मक प्रभाव पनि भएकाले समयमै सचेत रहनुपर्छ ।
हाम्रोमा सामाजिक प्रतिष्ठा भएका समाजका केही प्रबुद्ध वर्गले नै चाडपर्वका नाममा जाँड–रक्सी खाएर नकारात्मक सन्देश दिएको भेटेका छौं । यी र यस्ता व्यक्तिले त समाजको रोल मोडल भएर पो काम गर्नुपर्छ । यसपालिको दशैंबाट यो चेतनाको विकास हामी सबै मिलेर गरौं । अन्त्यमा, यसपालिको दशैं सङ्घारमै रहँदा हामी सबैले हाम्रो शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई सुदृढ बनाउन लागिपर्नु आवश्यक छ । असत्यमाथि सत्यको जीतको प्रतीकको रुपमा मनाइने चाड दशैंले हामीभित्रका असत्यलाई सकारात्मक बाटोमा बदल्ने प्रण गरौं ।
डाक्टर साथी तपाईंहरुलाई दशैंको हार्दिक शुभकामना व्यक्त गर्दछ। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र मस्त रहनुहोस् ।